-प्रताप विष्ट
हेटौडा – श्रीमतीको हत्या गरेको ठहर गर्दै एक युवकलाई पनि जिल्ला अदालत मकवानपुरले ३५ वर्ष कैद गर्ने फैसला गरेको छ । घटनामा संलग्न तीन युवकलाई जनही ४४ वर्ष कैद गर्ने फैसलासमेत गरेको छ ।
जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलाशले जेठी श्रीमतीको हत्या गर्न आदेश दिएको र योजना बनाएको ठहर गर्दै छतिवन ९ का ३८ वर्षीय सेतेमान बललाई कैद गर्ने फैसला गरेको हो । हत्या गर्न आदेश दिएकोमा २० वर्ष र योजना बनाएकोमा १५ वर्ष गरी ३५ वर्ष कैद गर्ने फैसला गरेको अदालतले जनायो ।
उक्त घटनामा संलग्न राजेन्द्र भोलन, गणेश घेवा र चेतबहादुर भोलनलाई जवरजस्ती करणीसहित हत्या गरेको ठहर गर्दै जनही ४४ वर्ष कैद गर्ने फैसला गरेको हो ।
पति सेतेमान बलले राजेन्द्र, गणेश र चेतबहादुरलाई पैसा दिएर जेठी पत्नी ठूलीकान्छी बललाई बलात्कार गर्न लगाएर २०६८ असोज ६ गते हत्या गराएका थिए । ठूलीकान्छी एक्लै घरमा सुतिरहेको अवस्थामा पति सेतेमान बलले गणेश, राजेन्द्र र चेतबहादुरलाई मादक पदार्थ सेवन गराई हत्या गर्न पठाएका थिए । सेतेमान बलसहित ४ जना भीमफेदी कारागारमा छन् ।
भारतमा लगेर दिदीवहिनी विक्री गर्नेलाई ३५ वर्ष कैद
दुई किशारीलाई भारतमा लगेर विक्री गरेको ठहर गर्दै बीरगञ्जका एक युवकलाई जिल्ला अदालत मकवानपुरले ३५ बर्ष कैद गर्ने फैसला गरेको छ । अदालतले तीन लाख रुपैया जरिवानासहित पीडकवाट पीडितद्धयलाई ३/३ लाख रुपैया उपलब्ध गराउन पनि फैसला गरेको छ । जिल्ला न्यायाधिश टेकनारायण कुँवरको मंगलवार वसेको इजलाशले बीरगन्ज उपमहानगरका २६ वर्षीय राजकुमार सोनारलाई हेटौडा नगरपालिका ६ की दुई किशोरीलाई भारतको दिल्लीमा लगेर विक्री गरेको ठहर गर्र्दै उक्त फैसला गरेको हो ।
सोनारले जागिर खुवाई दिन्छु भनेर दिल्लीमा लगेर दिदीवहिनीलाई ०६८ पुस १० गते एक लाख रुपैयामा बिक्री गरेका थिए । सोनारले विक्री गरेका दिदीवहिनीलाई यहाँका अधिकारकर्मी संघसंस्थाले उद्दार गरेर ल्याएर प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले सोनारलाई गत माघ महिनामा पक्राउ गरेको थियो ।