अविरल वर्षासँगै आएको बाढीपछि सेती नदीले धार परिवर्तन गर्दा बस्ती कटान

पोखरा, २० असार – अविरल वर्षासँगै आएको बाढीपछि सेती नदीले धार परिवर्तन गर्दा कास्की हेम्जामा एउटा घर बगाएको छ । जेठ ४ गतेको बाढीका कारण विस्थापित भएका ९ घरमध्ये कविता तिमिल्सिनाको घर बगाएको हो ।

मंगलवार रातीदेखि परेको पानीले सेतीमा बाढी आउँदा बस्तीतर्फ  कटान सुरु भई पोखरा बाग्लुङ्ग जोडने राजमार्गको दुई सय मिटर सडक र आधा दर्जन भन्दा बढी बिजुलीका पोल बगाउने खतरा बढेको छ । हेम्जा(१, याम्दीका ५० भन्दा बढी घर पनि जोखिममा परेका छन् । बाढीले पोखरा उपमहानगरपालिकाका लागि मर्दिखोलाबाट ल्याउने खानेपानीको पाइप पनि बगाएको छ ।

पोखरामा गएको २४ घण्टामा मात्रै ९४ दशमलव ८० मिलिलिटर पानी परेको नारायणी वेसिन पोखराले जनाएको छ । केही दिनअघि, स्थानीय प्रशासन र प्रहरीको सहयोगमा सेतीलाई पुरानै धारमा फर्काउने प्रयास भएपनि, नदीमा पानीको वहाव बढेपछि, नदीले धार परिवर्तन गरेको हो ।

नदी नियन्त्रणमा चासो नदेखाएको भन्दै जेठ १३ गते स्थानीय बासिन्दाले दिनभर जसो पोखरा बाग्लुङ्ग राजमार्ग अवरुद्ध पारेका थिए । बैशाख २३ गते सुर्खायाममा आएको विनाशकारी बाढीले डराएका कास्कीका वासिन्दा मनसुन सुरु भएलगत्तै सेतीले कटान थालेपछि, थप त्रसित बनेका छन् ।

 

– RSS