मोटरबाटो खन्दा अर्घाखाँचीमा गुफा भेटियो

– वीरेन्द्र केसी

 

सन्धिखर्क, अर्घाखाँची – गाउँमा जाने कच्ची मोटरबाटो खन्ने क्रममा गुफा भेटिएको छ । गुफा भित्र अनौठा संरचना भेटिएपछि हेर्नेको दिनहु भीड लाग्ने गरेको छ ।

 


अर्घाखाँचीको डिभर्ना स्थित चोडिला गाउँमा गुफा भित्रबाट बाहिर निस्कदै स्थानीय विकास अधिकारी होमनाथ भुसाल ।

 

अर्घाखाँचीको डिभर्ना देखि खन जाने सडकको रुट परिवतर्न गरी नयाँ बाटो खन्दा डिभर्नाकै चौडिला गाउँमा सुरुङ्ग जस्तै ओडार देखा परेकेा गाउँलेले बताए । शुरुमा भित्र पस्न सबै डराएका थिए । पहिलो पटक स्कुले विद्यार्थी शालिकराम कुँवरले भित्र पसेर करिब २ घण्टापछि निस्केर गुफा भएको बताएपछि भित्र हेर्न जानेको घुँईचो लागेको छ । भित्र पसेर अवलोकन गर्नेहरुका अनुसार यो जिल्लाकै सबैभन्दा राम्रो गुफा अन्तरगत पर्छ । भित्र अनौठो संरचना भएपछि गाउँलेले सिद्धेश्वर गुफा नामाकरण गरेर संरक्षण गर्न थालेका छन ।

 

गुफा भित्र ४ वटा बैठक जस्तै कोठा विभिन्न आकृतीका अनौठा संरचना भगवानमा मुर्तीहरु रहेको स्थानीय टोमलाल आचार्यले बताए । स्काभेटरले सडक खन्दै गर्दा गुफा भेटियो शुरुमा त डर लागेर केही पनि गएननु उनले भने अहिले दिनहुँ ५० देखि ३ सय जनासम्म हेर्न आईरहेका छन । मुलगेटबाट भित्र पसेपछि पहिलो तलामा शिवलिङको मुर्ती भित्र पट्टीको कोठामा ५० जनाभन्दा बढी अटाउन सक्ने रहेको छ । यस भित्र तिन मुखे सेतो नाग गणेश तथा कुमार कृष्ण चरित्रको रुप शिव पार्वती अष्टमुखीनाग शिव बहान हनुमानको गदा गुप्तेश्वर महादेव हात्तिपाउ र शिवलिङ लगायतका मुर्तीको आकृती रहेको स्थानीय वृद्ध शिवलाल पोखरेलले बताए । यसलाई संरक्षण गरी धार्मिक पयटकीय स्थलको रुपमा विकास गर्ने सोचमा रहेको उनले बताए । गाउँलेहरु समेत दैनिक भेला भएर पर्यटकीय क्षेत्र बनाउन छलफल गरिरहेको बताए । असार २ गते मोटरबाटो खन्दा यो गुफा फेला परेको हो । तेस्रो तलामा मादल खैजडी बजाएर नाचगान गर्न सक्ने आकृती समेत छन । गुफा हेर्न जिल्ला स्थित राजनीतिक दलका नेता कार्यालय प्रमुख कर्मचारी लगायत सर्वसाधारण हेर्न गैरहेका छन ।

 


 

जिल्लाका विभिन्न गाविस लगायत गुल्मी र प्युठानबाट समेत हेर्न आएको आचार्यले बताए । गुफा नजिकै एउटा शिद्धेश्वरको मन्दिर निर्माण गर्न आर्थिक संकलन जुटाउने तयारी भैरहेको उनको भनाई छ । गुफा भित्र पसेर निस्केपछि प्राकृतिक संरचनाको संरक्षण गरी विकास गर्नुपर्ने स्थानीय विकास अधिकारी होमनाथ भुसालले बताए । जिल्लामा यस अघि चर्चामा आएका खिदिम धातीवाङ लगायतका ठाउँका भन्दा यो सबैभन्दा राम्रो रहेको स्थानीयको भनाई छ । गुफा हेर्न दर्शकको घुईचो लागेपछि आर्थिक संकलन पनि बढिरहेको छ । अहिले सम्म डेढ लाख रुपैयाँ जति भेटीबाट संकलन भएको र सन्धिखर्कका स्थानीय तुल्सी आचार्यले १ लाख ११ हजार रुपैयाँ दान स्वरुप दिएको आचार्यले बताए ।


गुफा हेर्न आएका बाँगीका स्थानीय मणिराम थापाले गुफा भित्र कैलाश पर्वत लगायतका थुप्रै आकृतीहरुले रहेकाले यो धार्मिक पर्यकटीय क्षेत्र बन्ने बताए । 

 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।