सरकारले पूर्ण आकारको बजेट ल्याउने बताइ रहेको बेला बुधबार नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित विपक्षी दलहरुको गठबन्धनले कामचलाउ सरकारले सिफारिस गरेको पूर्ण बजेट अध्यादेश मार्फत जारी नगर्न आग्रह गर्दै राष्ट्रपति रामवरण यादव समक्ष एक ज्ञापनपत्र बुझाएकाछन्।
उनीहरु राष्ट्रिय सहमतिको सरकार गठन नहुन्जेल कुनै पनि विषयमा सहमति नहुने कुरामा अडिग छन्।
उता सत्ताधारी गठबन्धनले भने सबै कुरा प्याकेजमा सहमति नभए प्रधानमन्त्रीले राजीनामा नदिने बताइ रहेको छ।
विपक्षी दलहरुको गठबन्धनले राष्ट्रपतिलाई बुधबार बुझाएको ज्ञापनपत्रमा सरकारलाई पूर्ण बजेट ल्याउन नदिन राष्ट्रपतिलाई आग्रह गरिएको छ।
जसरी भएपनि वर्तमान कामचलाउ सरकारलाई बजेट ल्याउन नदिन विपक्षीहरुले अन्तिम प्रयास गरेको देखिन्छ।
उल्लेखनीय के छ भने सो पत्रमा वैद्य नेतृत्वको नवगठित माओवादी र उपेन्द्र यादव नेतृत्वको बृहत् मधेसी मोर्चाको हस्ताक्षर नरहेको बताइएको छ।