सातवटा शिविरमा समायोजन रोजेका माओवादी लडाकुको छनोट प्रक्रिया सुरु

काठमाडौं। विभिन्न संचार माध्यमबाट जानकारी अनुसार समायोजन रोजेका माओवादी लडाकुको छनोटप्रक्रिया आजदेखि सातवटा शिविरमा सुरु भएको छ ।

 

नेपाली सेना र लोकसेवा आयोगका पदाधिकारी सहभागी टोली शिविरमा ढिला पुगेका कारण हिजो सबै शिविरमा काम सुरु हुन सकेको थिएन । हिजो पहिलो दिन बिभिन्न ३ ओटा शिविरमा माओवादीका लडाकुको छनौट प्रक्रिया सुरु भएको थियो ।

 

चितवनको शक्तिखोरमा आज विहानैदेखि छनौट प्रक्रिया सुरु भएको छ भने कैलालीमा विहान १० बजेपछि छनौट प्रक्रिया सुरु हुनेछ ।

त्यसैगरी सुर्खेत, रोल्पा लगायतका शिविरमा पनि आजै लडाकु छनौट प्रक्रिया सुरु हुने बताइएको छ केही शिविरमा लडाकुहरुले पूर्व सहमतिअनुसार छनौट प्रक्रिया नभएकोभन्दै हिजो आपत्ति जनाएका थिए । छनोटप्रक्रिया थाल्न लडाकु रहेका सातवटै शिविरमा सेना र लोकसेवा आयोगका पदाधिकारीको टोली पुगेको छ ।

 

पहिलो चरणमा लडाकुहरूको शारीरिक योग्यताको जाँच गरिने सेनाले जनाएको छ । मापदण्डभित्र नपर्ने लडाकुहरूलाई स्वेच्छिक अवकाशको अवसर दिइने छ । झन्डै दुई महिनादेखि समायोजन रोजेका ३ हजार एक सय २३ लडाकु नेपाली सेनाको जिम्मा रहेको छ ।