एमाले माधवकुमार नेपालद्धारा असन्तुष्ट जनजाति र मधेसी नेताहरु कुनै पनि हालतमा पार्टी छाडेर बाहिर नजाने दाबी

जनकपुर  – प्राप्त कान्तिपुर पत्रीकामा प्रकासित समाचार अनुसार नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्ट जनजाति र मधेसी नेताहरु कुनै पनि हालतमा पार्टी छाडेर बाहिर नजाने दाबी गरेका छन् । पार्टी भित्रको विवाद आपसमै साम्य हुने उनको दाबी थियो ।

 

एमाले भित्रकै जनजाति, आदिवासी तथा मधेसी नेताहरुले पार्टीमाथि ‘संघीयता विरोधी’ को आरोप लगाइरहेकाबेला जनकपुर अञ्चलस्तरीय कार्यकर्ता प्रशिक्षणमा शुक्रबार नेपालले यस्तो विचार राखेका हुन् ।

 

‘असन्तुष्ट नेताहरुले आफ्ना विमतीहरु पार्टीभित्रै राख्नुपर्छ,’ नेपालले भने, ‘पार्टीलाई बदनाम गर्दै बाहिर बोल्नु हुन्न ।’ भाषणको क्रममा असन्तुष्ट पक्षमाथि कडा टिप्पणी गरेका वरीष्ठ नेता नेपाल सञ्चारकर्मीहरुसँग भेटमा भने ‘मधेसकै सर्लाही, महोत्तरी, रौतहटलगायतका जिल्लामा खासै समस्या छैन । धनुषामा अलि बढि छ, यहाँ विचारभन्दा पनि व्यक्तित्वको झगडा बढी छ ।’

 

प्रशिक्षण कार्यक्रममा सहभागी नभएका पोलिटव्युरो सदस्य रामचन्द्र झाको प्रसंगमा उनले भने ‘झाजी केन्द्रीयस्तरका नेता हुनुहुन्छ । मलाई त पार्टी नछाड्ने आश्वासन दिनुभएको छ, यतिका लगानी गरेका पार्टी छाडेर जानु हुन्छ जस्तो लाग्दैन ।’

 

संघीयताको सवालमा एमाले नेतृत्वबाट समेत गल्ती भएको स्वीकारे । आफू महासचिव रहेको वेला संघीयता सम्बन्धी अध्ययन गर्न गठित आयोगले प्रतिवेदनमाथि पार्टी नेतृत्वले गम्भीरतापूर्वक ध्यान नदिएको उनले स्वीकार गरे । ‘तर गल्ती जसले गरे पनि पार्टीभित्रै छिनोफानो गर्नुपर्छ,’ उनले भने, ‘बाहिर जगजाहेर गर्नु अनुशासन भंग गर्नु हो’ उनले भने ।

 

प्रशिक्षणमा सहभागी धनुषा, महोत्तरी, सर्लाही र सिन्धुलीका अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले पार्टीको विरोधमा बोल्नेहरु एमाले हुनै नसकने बताएका थिए ।

 

एमाले महासचिव ईश्वर पोख्रेलले पार्टीमाथि लागेको संघीयता विरोधीको आरोपलाई खण्डन गर्न तथा यस विषयमा पार्टीले लिएको आधिकारिक धारणाबारे जानकारी दिन प्रशिक्षण कार्यक्रम आयोजन गरिएको बताए । एमाले पार्टी भन्दा पनि व्यक्तिको आधारमा सञ्चालन हुन थालेको उल्लेख गर्दै उनले भने ‘यही गति रह्यो भन्ने एमाले जनताबाट कटिन्छ र जुन दिन जनताले पार्टी साथ दिन छाड्छ त्यो दिन पार्टी पनि रहन्न । हामी तपाई पनि रहनु हुन्न ।’

 

कार्यक्रममा एमाले सचिव युवराज ज्ञवाली, भानुभक्त ढकाल, केशव देवकोटा, रघुवीर महासेठ, योगनारायण यादव, शत्रुघ्न महतो, श्रीप्रसाद साहलगायत नेता पनि सहभागी छन् । शनिबार पार्टी अध्यक्ष झलनाथ खनालसमेत कार्यक्रममा सहभागी हुने जानकारी महासचिव पोख्रेलले दिए ।