नेपाल विद्यार्थी संघको महाधिवेशन पुसको अन्तिम सातामा

काठमाडौं – एक महिनाअघि पुनर्गठन भएपछि बसेको नेपाल विद्यार्थी संघको पहिलो केन्द्रीय समिति बैठकमा पुस अन्तिम साता महाधिवेशन गर्ने प्रस्ताव पेस भएको छ। अध्यक्ष रञ्जित कर्णले असार मसान्तदेखि प्रक्रिया सुरु गरी पुस मसान्तसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।

 

कांग्रेस केन्द्रीय समितिले चार महिनाअघि ६ महिनाभित्र नेवि संघको महाधिवशन गर्ने गरी तयारी समिति गठन गरे पनि आन्तरिक विवादले एक महिनाअघि मात्र समितिले पूर्णता पाएको थियो। पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षीय सदस्यले समिति गठनप्रति असहमति जनाउँदै सामूहिक राजीनामा गरेका थिए। ‘असारदेखि प्रक्रिया सुरु गर्ने गरी पुस मसान्तसम्ममा महाधिवेशन गर्न प्रस्ताव गरेका छौं,’ कर्णले शनिबारको बैठकपछि नागरिकसँग भने, ‘यसको अन्तिम टुंगो केन्द्रीय समिति बैठकले लगाउनेछ।’


अध्यक्षले पेश गरेको प्रस्तावमा असार ३१ सम्म विवाद भएका जिल्ला र क्याम्पसको सूची तयार पार्ने, साउन १५ सम्म महाधिवेशनका लागि सामग्री तयारी र प्रकाशन गर्ने उल्लेख छ। २०६४ सालमा पार्टी एकीकरण भएयता नेवि संघका कतिपय क्याम्पस इकाइ र जिल्लामा समेत समानान्तर दुई समिति छन्।



प्रतिवेदनमा साउन १५ सम्ममा विवादित जिल्ला र क्याम्पस इकाइबारे केन्द्रीय प्रतिनिधिले प्रतिवेदन पेस गर्ने, भदौ मसान्तसम्म विवादित जिल्ला र क्याम्पसमा सहमतिका आधारमा कार्यसमिति गठन गर्ने उल्लेख छ। भदौ १४ सम्ममा १४ वटै अञ्चलमा अञचलस्तरीय सभा गर्ने प्रस्तावमा छ। आन्तरिक विवाद समाधान भएपछि असोज २९ सम्ममा ‘मेची महाकाली अभियान’ अनुसार देशभरका क्याम्पस, उच्चमावि र स्कुलमा सदस्यता वितरण सुरु गरिनेछ।



मंसिर २१ देखि २५ सम्ममा २ सय ४० वटै क्षेत्रमा समन्वय समिति र क्याम्पसको अधिवेशन सम्पन्न गर्ने र मंसिर ३० गते एकैदिन पचहत्तरै जिल्लाको अधिवेशन एकैसाथ सम्पन्न गर्ने अध्यक्षको प्रतिवेदनमा छ। प्रतिवेदनअनुसार अधिवेशन सम्पन्न भएलगत्तै पुस ५ मा देशभरका महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गर्ने र पुस अन्तिम साता केन्द्रीय महाधिवेशन गरिनेछ।



अध्यक्षको प्रतिवेदनमाथि छलफल सुरु भएको छ। शनिबार नौजना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्। बैठक आइतबार पुनः बस्ने बताइएको छ।

 

– नागरिक