ठेकेदार भागेपछि तिनाउ नदी नियन्त्रण र तटबन्धको काम रोकियो

– कृष्ण खनाल


बुटवल असार २५ । यसै आर्थिक बर्षको अन्त्यमा सक्नुपर्ने तिनाउ नदी तटबन्धको काम पूरा नगरी  ठेकेदार भागेपछि तिनाउ नदी कटान नियन्त्रण तटबन्धको काम रोकिएको छ । 


  ठेकेदारले आर्थिक बर्षको अन्त्यसम्म सकिसक्ने काम अझै आधाभन्दा बढि पूरा हुन बाँकी रहेको छ ।  नदीले धार परिवर्तन गरि छेउछाउको भाग कटान सुरु गरेपछि वुटवलको बुद्धनगर बस्तीमा बाढीको उच्च जोखिम रहेको छ । 

 
विचैमा काम छाडेर ठेकेदारको अत्तोपत्तो नभएपछि बुटवल-१३ बुद्धनगरवासी  बाढीका कारण बस्ती जोखिममा परेको भन्दै चिन्ता ब्यक्त गरेका छन । 


 तिनाउ नदीले आफ्नो धार परिर्वतन गरि बुटवल-१३ बुद्धनगरको झोलुङ्गे पुल पारीको छेउछाउको भाग कटान सुरु गरेको कारण बुद्धनगर लगायत आसपासका  क्षेत्रमा उच्च जोखिममा रहेका छन ।

 

तटबन्धको काम पूरा नहुने र गत बर्षमा जस्तै नदीमा बाढी आउने हो भने बस्ती नै पुरै सखाप हुने भन्दै बुद्धनगरवासीहरुले तत्काल तटबन्धको काम सुरु हुनुपर्ने माग समेत गरेका छन ।

 

करिव २ करोडको लागतमा निर्माण भईरहेको उक्त तटबन्धको अहिलेसम्म एक तिहाई काम मात्र सम्पन्न भएको छ ।


जनताको तटबन्ध कार्यक्रम अन्तर्गत निर्माणको जिम्मा पाएका नुवाकोटका राजन भण्डारीले विचमै काम छाडेर हिडेको स्थानिय बासिन्दाहरुले बताएका छन् । उनले बर्षात सुरु भएको र काम गर्न नसकिने भन्दै काम छाडेर हिडेको स्थानिय बासिन्दाहरुले बताएका छन ।


बर्षातको मौसमसंगै नदीमा पानीको बहाव बढ्दै गएको कारण बुद्धनगर बस्ती तथा नेपाल विद्युत प्राधिकरणको हाईटेन्सन लाईनमा समेत प्रभाव पर्न सक्ने स्थानिय बासिन्दा तथा सहिद स्मृति प्रतिष्ठान नेपाल बुटवल-१३ बुद्धनगरका अध्यक्ष महेन्द्र भुसालले जानकारी दिनुभयो । 


 उहाँका अनुसार तत्काल तटबन्ध निर्माणको काम सुचारु नभएमा गत बर्षमा जस्तै तिनाउ नदीमा बाढी आएमा बुद्धनगर तथा यसको आसपासको बस्ती सखाप हुनुका साथै नेपाल विद्युत प्राधिकरणको हाईटेन्सन लाईनको पोलमा समेत असर पर्ने सक्नेछ ।


स्थानिय बासिन्दाहरुसंग समन्वय नगरिकन काम सुरु गरिएको तथा ठेक्का प्रकि्रया समेत लामो भएको र काम ढिला सुरु भएको कारण यस्तो परिस्थित आएको स्थानिय बासिन्दा चित्रबहादुर बर्माले जानकारी दिनुभयो । 

 
उता जनताको तटबन्ध कार्यक्रमका कार्यालय प्रमुख अनुपकेशर थापाले  विभिन्न प्रकि्रयाको कारण तटबन्धको कार्यक्रम ढिला सुरु भएको स्वीकार्दै तत्काल प्रमुख जिल्ला अधिकारी मार्फत आपत्कालीन अवस्थाको घोषणा गरी काम अगाडी बढाउनु पर्ने बताउनुहुन्छ ।


उहाँले जिल्लामा रहेको जिल्ला दैवी प्रकोप उद्धार तथा नियन्त्रण समितिबाट बजेटको व्यवस्था गरी तटबन्द निर्माण तथा कटान भईरहेको क्षेत्रमा च्यानललाईजेसन गरी पानीको धारलाई परिवर्तन गराई उक्त स्थानमा तत्काल तटबन्ध निर्माणको विकल्प नभएको समेत जानकारी दिनुभयो ।

 

उता वार्ड नः १३ का वार्ड सचिव प्रचण्डराज आचार्यले बुद्धनगरका स्थानिय जनतासंग साझेदारी नै नगरी काम सुरु गरिएको तथा जव बर्षातको मौसम सुरु हुन्छ तब मात्र काम सुरु गर्ने परिपार्टीको कारण पछिल्लो अवस्था सृजना भएको जानकारी दिनुभयो ।


उहाँले स्थानियवासिन्दाहरुको संमन्वयमा तटबन्ध गर्ने काम गरिएको भए  स्थानिय बासिन्दाहरुले समेत काममा सघाउने भएपनि एकपटक समेत नसोधी काम सुरु गरिएको बताउनुभयो ।


नेकपा एमाले नगर अध्यक्ष रामचन्द्र क्षेत्रीले तिनाउ नदी कटानको दिर्घकालीन समस्या समाधानको लागि तिनाउ पक्की पुलदेखि योगीकुटी क्षेत्रसम्म नदीको दायाँ बायाँको क्षेत्रलाई सिधा बनाएर तटबन्ध गरेमा बर्षैपिच्छे नदी किनारका जनताले सास्ती खेप्नु नपर्ने बताउनहुन्छ ।


त्यस्तै नेपाली कांग्रेसका क्षेत्रीय सभापति काजीमान श्रेष्ठले ठेक्का प्रकि्रयामा हुने गरेको मिलेमतोको कारण ठेक्का प्रकि्रया ढिलो हुने र समयमै काम सम्पन्न नहुने परिपार्टीको कारण बुद्धनगरवासीहरुले जोखिम मोलिरहेको जनाउनुभयो ।


नेपाली कांग्रेस नगर सभापति खेलराज पाण्डेले जनताको तटबन्ध कार्यक्रमले राजनैतिक दहरुसंग सहकार्य तथा संमन्वयकारी भूमिका निर्वाह नगरेको भन्दै   आपसी सल्लाह तथा सुझाव विना काम अगाडी बढाईएको कारण समस्या सिर्जना भएको बताउनुभयो । तिनाउ नदी नियन्त्रणको लागि करोडौ रुपैया खर्च गरिएको भएता पनि काम समयमै सम्पन्न नहुने तथा झारा टार्ने काम मात्र गर्ने भएको कारण करोडौ रकम त्यतिकै खेरा गईरहेको छ ।