बुधबार भारतीय स्थल सेनाध्यक्ष जनरल सिंह काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन भ्रमण गर्नेछन् । अपरान्ह सिंहदरबारमा रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराईसँग सिंहले भेट्ने कार्यक्रम छ ।
बुधबार नै साँझ राष्ट्रपति भवनमा आयोजना गरिने एक विशेष समारोहका बीच राष्ट्रपति रामवरण यादवले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछन् । बुधबार साँझ उनको सम्मानमा प्रधान सेनापति गुरुङ्गले जंगी अड्डा परिसरमा रात्रीभोज गर्नेछन् ।
सिंहले बिहीबार बिहान मुस्ताङ्ग जिल्लाको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयको भ्रमण गर्नेछन् । त्यसपछि, पोखरास्थित भारतीय पेन्शन वितरण कार्यालय र नेपाली सेनाको पश्चिम पृतना मुख्यालयको भ्रमण गर्ने कार्यक्रम छ । सोहि दिन साँझ उनले प्रधानसेनापति गुरुङ्गको सम्मानमा रिसेप्शनको आयोजना गर्नेछन् ।
शुक्रबार उनले गौतम बुद्धको जन्म स्थान लुम्बिनीको भ्रमण गर्नेछन् । त्यसपश्चात उनले सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीको भ्रमण गरी सि.सं. १९ कमाण्ड तथा स्टाफ कोर्सका शिक्षार्थी अधिकृतहरुलाई सम्बोधन समेत गर्ने कार्यक्रम छ ।
शनिबार भ्रमण पूरा गरी भारतीय स्थल सेनाध्यक्ष तथा उनको भ्रमणदल अपरान्ह स्वदेश फिर्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।