थापाथलीबाट हटाइएका सुकुम्वासीलाई राख्नको लागि ललितपुरको सुन्दरीघाटमा २३ वटा अस्थाई टहरा

 काठमाडौं, २८ असार थापाथलीबाट हटाइएका सुकुम्वासीलाई राख्नको लागि ललितपुरको सुन्दरीघाटमा २३ वटा अस्थाई टहरा बनाइसकिएको छ । सरकारले बनिसकेका टहरामा सुकुम्वासीलाई सार्न तयारी गरेपनि स्थानीयवासिन्दाको अवरोधका कारण सार्न काम प्रभावित भएको छ ।
 
बुधवार सुन्दरीघाटमा १३ घरपरिवारलाई सार्न तयारी थियो । स्थानीयबासिन्दाले विरोध गरिरहेकाले बिहीबार त्यसबारे सरोकारवालाहरुसित छलफल गरी बिहीबार बेलुका वा शुक्रवार सुकुम्वासीलाई सार्न अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष महेश बस्नेतले बताए  ।
 
सुकुम्वासीले भने सुरक्षाको प्रत्याभूति नगरेसम्म आफूहरु सुन्दरीघाट नजाने बताएका छन् । सरकारले एकै पटक सबै सुकुम्वासीलाई सार्नुपर्ने उनीहरुको भनाई छ । भौतिक पूर्वाधारमा केही समस्या भएकाले एकै पटक सबैलाई सार्न कठिन हुने सरकारको प्रतिक्रिया छ । सरकारले थापाथलीबाट हटाईएका सुकुम्वासीका लागि सुन्दरीघाटमा ४८ वटा अस्थाई टहरा बनाउने जनाएको छ ।
RSS