संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा सिरीयाको भविष्यबारे छलफल चलरिहँदा सिरीयाका एक जना वरिष्ठ कुटनीतिज्ञले राष्ट्रपति बशार अल असादको साथ छोडेका छन् ।
ईराकका लागि सिरीयाली राजदुत नवाफ फारेजले राष्ट्रपति असादको साथ छोड्दै सिरीयाली विद्रोही समुहमा अवद्ध भएको जनाएका हुन् । जनस्तरमा निकै कमजोर बनीसकेका सिरीयाली राष्ट्रपति असादलाई उच्च सैन्य अधिकृतहरुले साथ छोडीरहेको बेला कुटनीतिज्ञ समेत विपक्षी खेमामा मिसिएका हुन् ।
अघिल्लो हप्ता मात्रै सिरीयामा परम्परागत शक्तीका रुपमा स्थापित एक वरिष्ठ सैनिक जनरलले विद्रोहीलाई साथ दिएका थिए ।
सिरीयाको लागि राष्ट्रसंघका विशेष दुत कोफी अन्नानले हिंसा अन्त्यको लागि छिमेकी मुलुकहरु ईरान र ईराकको भ्रमण गरेको केही घण्टा बित्न नपाँउदै ईराकको लागि सिरीयाली राजदुत विद्रोही समुहमा मिसिएका हुन् । राजदुत फारेज सिरीयाको सत्ताधारी बाथ पार्टीका वरिष्ठ नेता समेत हुन् ।
सन् २००८ मा ईराकको लागि राजदुत नियुक्त भएका फारेज ईराक र सिरीयाको सिमाक्षेत्रमा बलियो पकड भएको सुन्नी आदिवासी समुह उकेदातका प्रमुख समेत थिए ।