नेपाली कांग्रेस सहमतिमा संसदीय चुनावमा जान सक्ने

गोविन्द परियार, नागरिक

 

काठमाडौं – कांग्रेसले सहमतिमा संसदीय चुनावमा जान सकिने धारणा बनाएको छ। शनीबार विहान सभापति सुशील कोइराला निवास महाराजगंजमा बसेको केन्द्रीय सदस्यहरुको अनौपचारिक बैठकमा संसदको चुनावमा जान पार्टी तयार हुनु पर्ने धारणा अधिकासन्स सदस्यले राखेका हुन।

 

‘म्याद सकिएर विघटन भएको संविधानसभा पुनस्थापना विधिका हिसावले पनि नमिल्ने भएकाले संविधानसभाको होईन संसदको चुनावमा जान पार्टी तयार हुनु पर्ने धराणा आएको हो’ बैठकमा सहभागि केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बढुले नागरिकसँग भने, ‘निर्वार्चित संसदलाईनै संविधानसभाको बाँकी काम पनि गर्ने अधिकार दिने गरी अघि बढ्नु पर्ने धेरैको सुझाव थियो।’


 

बैठकमा विगतमा संविधानसभाले संसदको पनि काम गरेकाले अव संसदले संविधानसभाले टुंगाउन बाँकी काम गर्नेगरी सहमति गर्न सकिने धारणा आएको थियो। तर संसदको चुनावमा जान राष्ट्रिय सहमतिको सरकारलाई सर्तको रुपमा पार्टीले अघि सार्नु पर्ने निष्कर्ष बैठकको थियो।


कांग्रेसमा ८० भन्दा वढि पुर्व सभासद्हरुले संविधानसभा पुनस्थापनाको माग गर्दै केन्द्रीय समितिबाट निर्णय गर्न दवाव दिएका बेला संसदको चुनाव गर्ने धारणा आएको हो। सभापति कोइराला निकट नेताहरुले संविधान सभाको नभई संसदको चुनावमा जानु पर्ने लविङ थालेका सभापति निकट नेताहरूले नै शनिबार त्यस्तो धारणा ल्याएका हुन्।
बैठकले वर्तमान राजनीति र संवैधानिक निकासका बारेमा पार्टीको औपचारिक धारणा सहितको प्रस्ताव तयार गर्न सभापतिलाई आग्रह गरेको छ।


वर्तमान संकटका विषयमा पार्टीका नेता पिच्छे फरक धारणा आउन थालेपछि कांग्रेसले केन्द्रीय समितिमा प्रस्ताव पेश गरी आधिकारीक धराणा बनाउने भएको हो। ‘मुलुक राजनीतिक र संवैधानिक रुपमा पनि शुन्यतामा पगेकाले यसको निकास कसरी गर्ने भन्ने विषयमा पार्टीले औपचारिक धारणा बनाउने निर्णय भएको छ’ केन्द्रीय सदस्य बढुले भने, ‘संकटको विभिन्न विकल्प र निकासका विषयमा सभापतिले प्रस्ताव तयार गर्ने र केन्द्रीय समितिमा छलफल गरी निर्णय हुने छ।’


केन्द्रीय समितिमा वर्तमान राजनीतिक परिस्थितिका बारेमा महामन्त्रीद्धय प्रकाशमान सिह र कृष्णप्रसाद सिटौला तथा सभापति कोइरालाले प्रस्ताव तयार गर्न बैठकले आग्रह गरेको छ। ‘महामन्त्री र सभापतिले प्रस्ताव बनाउनु हुन्छ’ उनले भने, ‘केही दिनपछि बस्ने केन्द्रीय समितिले उक्त प्रस्तावमा छलफल गरी पार्टीको औपचारिक धारणा बनाउनेछ।’


बैठकमा संविधानसभा पुनस्थापना गर्ने र नगर्ने दुई विचार आएका थिए। कोइराला भने संविधानसभा पुनस्थापना नगर्ने पक्षमा देखिएका छन्। उनलेले म्याद सकिएर विघटन भएको संविधानसभालाई पुनस्थापना गर्न मिल्ने/नमिल्ने भन्दै विधि विधानलाई ख्याल गरेर मात्रै निकास पहिल्याउनु पर्ने धारणा राखेका थिए।

 

जिल्ला सभापति भेला सर्ने


राजनीतिक विषयमा दलहरुबीच छलफल गर्नुपर्ने भन्दै कांग्रेसले साउन १० र ११ गते डाकेको जिल्ला सभापति भेला केही समय पर सार्ने भएको छ।


शनीबार साँझ वागमति जिल्लाका पार्टी सभापतिहरुलाई आफ्नै निवासमा बोलाई कोइरालाले केही समय पर सार्ने बताएका हुन्। उनले वर्तमान राजनीतिक अवस्थाका विषमया केन्द्रीय समिति बैठक र दलहरुसाग संवाद पनि अघि बढाउनु पर्ने भएको भन्दै सभापति भेला भदौमा गर्ने जानकारी गराएका हुन्।