आर्थिक वर्ष २०६९/०७० का लागि एक तृतीयांश बजेट सार्वजनिक

सरकारले राष्ट्रपति डा. रामवरण यादव समक्ष आर्थिक वर्ष २०६९/०७० का लागि एक तृतीयांश बजेट अध्यादेश सिफारिस गरेको छ ।

 

आज विहान बसेको मन्त्रीपरिषद् बैठकको निर्णय लिएर प्रधामन्त्री डा. बाबुराम भट्टराई, अर्थमन्त्री वर्षमान पुन र अर्थ सचिव कृष्णहरी बास्कोटालगायत राष्ट्रपति भवन शितल निवास पुग्नु भएको थियो । राष्ट्रपतिले अध्यादेशमार्फत बजेट ल्याउन सरकारले संविधानको धारा ९६ क बमोजिम गरेको सिफारिस स्वीकृत गरेपछि अर्थमन्त्री पुनले आजै बजेट सार्वजनिक गर्नुहुने छ । राष्ट्रपतिसँगको भेटपछि अर्थमन्त्री वर्षमान पुनले सेना समायोजन, निर्वाचन एवं नयाँ मन्त्रालयलाई बजेट विनियोजन सहितका कार्यक्रमहरु ल्याइने जानकारी दिनुभयो । सरकारले अपरान्ह चार बजे बजेट सार्वजनिक गर्ने जनाएको छ ।

यस अघि आज बिहान बसेको मन्त्रिपरिषद बैठकले एक तृतियांश बजेट जारी गर्ने औपचारिक निर्णय गरेको थियो । बैठकले आर्थिक वर्ष २०६८/६९ का लागि ल्याइएको बजेटको एक तिहाइ नबढ्ने गरी बजेट ल्याउने निर्णय गरे लगत्तै प्रधानमन्त्री र अर्थमन्त्रीसहित अर्थमन्त्रालयका अधिकारीहरु बजेट अध्यादेश लिएर राष्ट्रपति डा. रामवरण यादव समक्ष पुगेका थिए । मन्त्रीपरिषद् वैठकले राष्ट्रिय वाणिज्य वैंक सुदृढिकरणका लागि ४ अर्व ३२ करोड निकासा दिने निर्णय पनि गरेको छ । त्यस्तै नेपाल वैंक लिमिटेडको १ अर्व ३७ करोड बरावरको शेयर खरिद गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सरकारले यसअघि हिजो आर्थिक वर्षको आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति सार्वजनिक गरेको थियो । आर्थिक सर्वेक्षणमा आर्थिक बृद्धिदर ४ दशमलब ५६ प्रतिशत हुने अनुमान गरिएको छ । – RSS