उत्तर कोरियाका नयाँ नेता किम जोङ उनसँग पछिल्लो समयमा सार्वजनिक कार्यक्रममा देखिन थालेकी युवतीको बारेमा चासो र चर्चा बढ्न थालेको छ । केही दिन अघि कालो सुट र छोटो कपालमा आएकी ती महिला अघिल्लो शुक्रबार भने सरकारी अर्केस्ट्रामा नेता उनसँग देखिएपछि त्यससम्बन्धी चर्चा बढ्न थालेको हो ।
सरकारी समाचार संस्थाले जारी गरेको सांगीतिक कार्यक्रमको तस्बिरमा डिज्नी कार्टुनका दुई पात्र मिकी र मिनी माउसका साथै उत्तर कोरियाका केही पप गायक र डान्सर देखिएका थिए । तर सबैको चासो भने उत्तरका सर्वोच्च नेता उनसँगै बसेकी महिलामाथि थियो । दक्षिण कोरियामा पनि सुरु भएको छ दक्षिण कोरियाली सञ्चारमाध्यमहरुले पनि ती महिला को हुन् भन्ने प्रश्न उठाइरहेका छन् ।
बेलायती ट्याब्लोइड पत्रिका सनका अनुसार त्यसपछि आइतबार सरकारी टेलिभिजनमा प्रसारण गरिएको फुटेजमा उनी जोङ उनसँगै उनका हजुरबुबा किम इल सुङको वाािषर््ाकीमा आयोजित कार्यक्रममा देखिएकी थिइन् । प्योङयाङको कुम्सुसान दरबारमा आयोजित सो कार्यक्रममा राज्यका संवैधानिक प्रमुख किम योङ नाम र सैन्य प्रमुख री योङ होको पनि सहभागिता रहेको थियो ।
एक दक्षिण कोरियाली अखबारले उनी किम जोङ उनकी पत्नी वा सानी बहिनी हुनसक्ने अनुमान लगाएको छ । ६ महिनाअघि किम जोङ इलको अन्तिम संस्कारको समयमा पनि उनी उनसँग देखिएकी थिइन् र अहिले पनि उनको उपस्थितिको चर्चा निकै हुन थालेको छ । तर ३० वर्षभन्दा पनि कम उमेरका किम जोङ उनको विवाह भइसक्यो कि छैन ? भन्ने आधिकारिक जानकारी उत्तर कोरियाली अधिकारीहरुले नदिंदा यो अन्योल देखिएको हो ।