गत वर्ष अलग भएका अफ्रिकी मुलुकहरु सुडान र दक्षिण सुडानका राष्ट्रपतिबीच भेटवार्ता भएको छ । गत अप्रिलमा भएको सीमा विवादपछि दुई मुलुकका राष्ट्रपतिबीच पहिलोपटक भेटवार्ता भएको हो ।
इथियोपियाको राजधानी अदिस अबाबामा भएको अफ्रिकी युनियनको सम्मेलनको क्रममा सुडानका राष्ट्रपति ओमार अल बशिर र दक्षिण सुडानका राष्ट्रपति साल्भा किरबीच भेटवार्ता भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । भेटवार्तामा दुई नेताहरुबीच सबै विवाद हल गर्ने उपायको खोजी गर्नेबारे छलफल भएको बताईएको छ ।
गत वर्षको अन्त्यतिर सुडानबाट दक्षिण सुडान अलग्गिए पनि यी दुई मुलुकहरुबीच अझै थुप्रै विवाद कायमै छन् । संयुक्त राष्ट्रसंघले आगामी अगष्ट दुई तारीखसम्ममा सबै विवाद मिलाउन समय सीमा तोकेको अवस्थामा दुई देशका राष्ट्रपतिहरुबीच भेटवार्ता भएको हो ।