एकीकृत माओवादी राष्ट्रियताको विषयमा कमजोर हुँदै

काठमाडौँ – एकीकृत नेकपा(माओवादी)को आइतवारको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी राष्ट्रियताको विषयमा कमजोर हुँदै गएकोमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

आइतवारको बैठकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भारतसँग सरकारले गरेको बिप्पा सम्झौताप्रति विरोध जनाउँदै राष्ट्रियताका विषयमा पार्टी केही कमजोर हुँदै गएको टिप्पणी गरेका थिए।


बैठकमा उपाध्यक्ष श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन माथि सहमति जनाउँदै बिप्पा सम्झौता गलत भएको तथा राष्ट्रियताका विषयमा पार्टी स्पष्ट हुन जरुरी रहेको धारणा राखेको पोलिटव्युरो सदस्य हरिबोल गजुरेलले जानकारी दिए।


बैठकमा पोलिटब्युरो सदस्य शशी शेरचनले राष्ट्रियताका विषयमा पार्टी कमजोर हुँदै गएको बताउँदै एकपछि अर्को राष्ट्रहित विपरीतको सम्झौता सरकारले गर्दा पनि पार्टी चुप बसेको आरोप लगाए।


उनले राष्ट्रियताका विषयमा केन्द्रित रहेर छुट्टै लिखित प्रस्ताव नै बैठकमा प्रस्तुत गरेका थिए।

पोलिटब्युरो सदस्य राम कार्कीले आफ्नो छुट्टै लिखित प्रस्ताव राख्दै पार्टीमा लामो समय देखि महाधिवेशन हुन नसक्नु, आर्थिक अपारदर्शिता हुनु जस्ता कारणले पार्टीको साख गिर्दै गएको धारणा राखेका थिए।


पोलिटब्युरो सदस्य विश्वनाथ साहले पार्टीको नेतृत्व तहमा मधेसीको सहभागिता न्यून रहेको धारणा राख्दै मधेसीको सहभागिता बढाउनका लागि पार्टीले पहल गर्नुपर्ने माग राखेका थिए।


मधेसीहरूलाई पार्टीको नेतृत्वमा सहभागिता बढाउनुपर्ने माग गर्दै मधेसी नेताहरूले छुट्टै लिखित प्रस्तावनै बैठकमा प्रस्तुत गरेका थिए।


बैठकमा केन्द्रीय सदस्य शशि श्रेष्ठले पार्टीमा महिलाहरूलाई नेतृत्व विकासका लागि अवसर दिइनुपर्ने माग राखेकी थिइन्।


बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले अध्यक्ष प्रचण्डको प्रतिवेदनमा समर्थन जनाउँदै राष्ट्रियतका विषयमा भने प्रतिवेदनमा थप परिमार्जन गरिनुपर्ने माग राखेका थिए।

शुक्रवारबाट सुरु केन्द्रीय समितिको बैठकमा पोलिटब्युरो सदस्यहरूले बोल्ने क्रम आइतवार सकिएको छ भने केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ।


भोलिदेखि विस्तारित बैठक सुरु हुने भएकोले बोल्न बाँकी केन्द्रीय सदस्यहरूले बिस्तारित बैठकका बीचमा बस्ने केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्ने पोलिटब्युरो सदस्य गजुरेलले जानकारी दिए । रासस