रात्रीबस कृष्णभिरवाट त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या १०

धादिङ, १ साउन । उदयपुरको कटारीबाट काठमाण्डु आउँदै गरेको रात्रीबस धादिङको धुषा गाविस वडा नम्बर १ मा पर्ने पृथ्वीराजमार्गको कृष्णभिरवाट त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या १० पुगेको छ । ६ जनाको घटनास्थलमै र बांकी ४ जनाको उपचारका क्रममा काठमाण्डुको स्टार अस्पतालमा मृत्यु भएको हो ।

 

 ना २ ख ४९५१ नम्बरको बस आज बिहान ४ बजेतिर धादिङको धुषा गाविसस्थित कृष्णभिरबाट त्रिशुली नदीमा खसेको थियो । प्रहरीका अनुसार दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा नुवाकोटका दिपकप्रसाद खनाल, उदयपुरका खोगबहादुर धमला र आर्टीलरी तालिम केन्द्र काठमाण्डुका अमलदार सुकबहादुर कार्की, सिन्धुलीका २७ वर्षिय कोशिस घिमिरे, उदयपुरकी २१ वर्षिया रुकु मगर र अन्दाजी ३ वर्षीया एक बालिका छन् । दुर्घटनामा घाइते भएका मध्ये १३ जनाको स्टार हस्पिटल काठमाण्डुमा र २ जनाको गजुरी सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।

 

घटनास्थलमा राजमार्ग उद्धार स्यमंसेवकको टोली, नेपाली सेना, जनपथ र ससस्त्र प्रहरीको टोलीले उद्धार गरेका थिए । लगातारको बर्षा संगै त्रिशूली नदीमा पानीको बहाब बढेका कारण उद्धार कार्यमा कठिनाई भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक विनोद घिमिरेले बताउनुभयो । वेपत्ता हुनेको संख्या अझै बढ्न सक्ने अनुमान प्रहरीको छ ।

 

कटारीवाट ५२ जना यात्रु लिएर हिँडेको बसले बीच बाटोमासमेत यात्रु चढाएकोले ६० जना भन्दा बढि यात्रु बसमा सवार रहेको हुन सक्ने घाइतेहरुले बताएका छन् । बस दुर्घटनाको कारण खुल्न नसकेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

RSS