असहाय वृद्धवृद्धा र द्वन्द्वपीडित बालबालिकालाई आश्रय दिएर समाजसेवा गर्दै आएकी दिलशोभा श्रेष्ठलाई सहयोग गर्ने हात बढेका छन् । अघिल्लो साता कान्तिपुर टेलिभिजनको दिशानिर्देश कार्यक्रममा समाजसेवी श्रेष्ठको अन्तर्वार्ता प्रसारण भएपछि सहयोगी हातहरू अघि बढेका हुन् ।
राजधानीको रविभवनमा ‘आमाघर’ नाम दिएर श्रेष्ठले १५ वर्षदेखि समाजसेवा गर्दै आएकी छन् । आमाघरलाई आइतबार सार्क चेम्बर महिला उद्यमी परिषद्ले १ लाख रुपैयाँ सहयोग गरेको छ । परिषद्की अध्यक्ष प्रमिला आचार्य रिजालले चेक हस्तान्तरण गरिन् ।
श्रेष्ठले असहाय, वृद्ध र कर्णालीका द्वन्द्वपीडित बालबालिका गरी ८६ जनालाई आश्रय दिइरहेकी छन् । उनले कालिमाटी सोल्टीमोडस्थित आफ्नो घरलाई ‘आमाघर’ नाम दिएर २०५४ देखि सेवा गरिरहेकी छन् । कान्तिपुर टेलिभिजनले पनि १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । दाताहरूले चामल, बिस्कुट, नुन, तेल कपडादेखि निर्माण सामग्रीसमेत सहयोग गर्दै आएका छन् ।