अमेरिकामा सन् १९५६ यताकै सबैभन्दा ठूलो खडेरी,

– अमेरिकामा सन् १९५६ यताकै सबैभन्दा ठूलो खडेरी परेको छ । राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय प्रशासन नोआले गएको जुन महिनामा अमेरिकाको ५५ प्रतिशत क्षेत्र खडेरीको मारमा परेको जनाएको छ ।
 
देशको ८० प्रतिशत भागमा असामान्य रुपमा खडेरी परेको, खडेरीका कारण मकै, भटमास लगायतका अन्नबाली नष्ट भएको र अधिकांश राज्यहरुमा डढेलो लागेको नोआको प्रतिवेदनमा उल्लेख छ । खाद्यवालीको धेरै उत्पादन हुँदै आएका १८ वटा राज्यका खेती योग्य जमीनमा लगाईएको ३० प्रतिशत बालीको अवस्था निकै नाजुक हुनसक्ने अमेरिकी कृषि अधिकारीले अनुमान गरेका छन् ।
 
कृषि विभागका अनुसार खडेरीकै कारण २६ राज्यका १ हजार नगरहरुलाई प्रकोप क्षेत्र घोषणा गरिएको छ । सन् १८९५ मा मापन गरिएको तापक्रमको रेकर्ड तोडदै यो वर्ष जुन महिनामा अमेरिकाको तापक्रम उच्च पुगेको अधिकारीहरुले बताएका छन् ।