लिवियामा गद्धाफीको पतनपछि सम्पन्न निर्वाचनमा गठबन्धन नेशनल फोर्सेज एलायन्सले सबैभन्दा बढी सीटमा जीत हासिल

लिवियामा कर्णेल गद्धाफीको पतनपछि सम्पन्न पहिलो संसदीय निर्वाचनमा उदारवादी दलहरुको गठबन्धन नेशनल फोर्सेज एलायन्सले सबैभन्दा बढी सीटमा जीत हासिल गरेको छ ।

 

पूर्व अन्तरिम प्रधानमन्त्री महमुद जिब्रिलले नेतृत्व गरेको गठबन्धनले आरक्षित ८० सीट मध्ये ३९ सीटमा जीत हासिल गरेको हो । मुस्लिम ब्रदरहुडको राजनीतिक शाखाले १७ सीट जितेको छ । लिवियाको संसदमा २ सय सीटमध्ये बाँकी स्वतन्त्र उम्मेद्वारले जितेका छन् ।

 

युरोपेली चुनाव पर्यवेक्षकहरुले जुलाई सातमा सम्पन्न निर्वाचन सामान्यतया शान्तिपूर्ण रहेको जनाएका छन् । एक सय भन्दा वढी दलले भाग लिएको निर्वाचनमा ६२ प्रतिशत मतदाताले मतदान गरेका थिए । यो निर्वाचनलाई लिवियामा पछिल्लो दशकमा भएको स्वतन्त्र निर्वाचन भनिएको छ ।

 

सन् १९६९ मा सत्तामा आएका गद्धाफी गत वर्षको सफल जनविद्रोहपछि मारिएका थिए ।