सिरियाको राष्ट्रिय सुरक्षा मुख्यालयमा भएको आत्मघाती बम आक्रमणमा रक्षा मन्त्री र उपमन्त्रीसहितका उच्च अधिकारीहरूको मृत्यु भएको छ ।
बिस्फोटमा रक्षामन्त्री दाउद राझा र राष्ट्रपति बसर अल असदका नजिकका आफन्त समेत रहेका सरकारी सशस्त्र फौजका उपप्रमुख समेत रहेका सहायक रक्षा मन्त्री असिफ स्वाकतको मृत्यु भएको सिरियाली सरकारी टेलिभिजनले बताएको छ । राष्ट्रिय सुरक्षा प्रमुख र गृहामन्त्रीको अवस्था गम्भीर रहेको बताइएको छ ।
राजधानी दमास्कसमा रहेको राष्ट्रिय सुरक्षा मुख्यालयमा उच्चस्तरीय बैठक बसिरहेका बेला आत्मघाती बम आक्रमण भएको बताइएको छ । ६५ वर्षिय राझा, राष्ट्रपति बसर अल असद बिरुद्ध भइरहेको गृहयुद्धमा मारिने उच्च सरकारी अधिकारी हुन् । विस्फोटमा देशका वरिष्ठ अधिकारीहरू समेत घाइते भएका छन् ।
सेनाले विस्फोट भएको स्थानलार्इ नियन्त्रणमा लिएको छ । संकास्पद आक्रमणकारी राष्ट्रपति बसर अल असद निकटका सहयोगीहरूको सुरक्षा गार्ड भएको अशंका गरिएको छ । उनी एक वर्षभन्दा कम समय रक्षामन्त्री रहे । रक्षामन्त्री बन्नु अघि उनी सेना प्रमुख थिए ।
विस्फोटमा मारिएका रक्षामन्त्री राझालार्इ सरकारविरोधी प्रदर्शनमा दमन गरेको अभियोगमा अमेरिकाले कालोसूचीमा राखेको छ । राष्ट्रपति असदका बहिनीसँग बिबाह गरेका उनी असदका निकट मानिन्छ ।
रोयटर्सका अनुसार बिस्फोटको फ्रि सिरियन आर्मी तथा इस्लामिक बिद्रोही समूह लिवा अल इस्लामले जिम्मेवारी लिएका छन् । राष्ट्रपति असदको ४० वर्ष भन्दा लामो शासनबिरुद्ध विगत १६ महिनादेखि सिरियामा हिंसात्मक बिद्रोह जारी छ ।