भारतमा नयाँ राष्ट्रपति चयन गर्न आज निर्वाचन हुँदै छ । राष्ट्रिय र प्रान्तीय राजधानीहरुमा हुने उक्त निर्वाचनका लागि सुरक्षा लगायतका सबै तयारी पुरा भइसकेको भारतीय अधिकारीहरुले बताएका छन् ।
भारतको उक्त सर्वोच्च पदका लागि सत्तारुढ कंग्रेस पार्टीका वरिष्ठ नेता प्रणव मुखर्जी र पूर्व सभामुख पीए सांग्मा चुनावी मैदानमा छन् । अधिकांश दलको समर्थन पाएका मुखर्जी राष्ट्रपति चुनिने निश्चितप्राय छ । सत्तारुढ गठबन्धन युनाइटेड प्रोग्रेसिभ एलायन्स् यूपीएको अप्ठ्यारो घटक तृणमूल कंग्रेसले पनि अन्तिम समयमा आएर मुखर्जीलाई समर्थन दिने घोषणा गरेपछि कंग्रेस हौसिएको छ ।
कंग्रेससहित यूपीएका सबै गठबन्धनकारी घटकका अतिरिक्त बाहिरबाट सरकारलाई समर्थन गरिरहेका र विपक्षमा रहेका केही दलले समेत मुखर्जीलाई साथ दिने सार्वजनिक गरिसकेका छन् । समाजवादी पार्टी, बहुजन समाज पार्टी, केही वाम दल, जनता दल युनाइटेड र शिव सेना जस्ता घटकले मुखर्जीको पक्षमा मतदान गर्ने बताएका छन् ।
यस हिसाबले इलेक्टोरेल कलेजको करिब ६७ प्रतिशत मत मुखर्जीले प्राप्त गर्ने निश्चित छ । मनोनीतबाहेकका सबै केन्द्रीय सांसद र राज्यहरुका विधायक इलेक्टोरेल कलेजमा मतदाता रहने व्यवस्था छ ।
अर्का प्रत्याशी सांग्मालाई भने प्रमुख विपक्षी दल भारतीय जनता पार्टी, जयललिताको एआईडीएमके, शिरोमणि अकाली दल, बिजु जनता दल लगायतका घटकहरुले समर्थन गरेका छन् । यो समर्थनलाई हेर्दा, सांग्माले पाउने मत करिब ३० प्रतिशतको हाराहारीमा रहनेछ ।
राष्ट्रपति चयनका लागि आज निर्वाचन भए पनि मतगणना भने आइतबार मात्रै हुनेछ । आइतबारै साँझ मतपरिणम पनि आउने अपेक्षा गरिएको छ । हालकी राष्ट्रपति प्रतिभादेवी सिंह पाटिलको अवधि आउँदो मंगलबार सकिने भएकाले नयाँ राष्ट्रपतिले बुधबारदेखि मात्रै रायसिना हिलमा आफ्नो काम सुरु गर्नेछन् ।
१३ औं राष्ट्रपतिका रुपमा रायसिना हिल पुग्ने व्यक्तिका लागि राष्ट्रपति पदको गरिमामय छवि पुनःस्थापना गर्ने चुनौती छ ।