भारतमा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन सम्पन्न, मुखर्जी राष्ट्रपति चुनिने निश्चित

India's former Finance Minister and presidential candidate Mukherjee casts his vote during election for ceremonial post of president in New Delhiभारतमा नयाँ राष्ट्रपति चयनका लागि आज निर्वाचन सम्पन्न भएको छ । भारतको सर्वोच्च पदका लागि सत्तारुढ कंग्रेस पार्टीका वरिष्ठ नेता प्रणव मुखर्जी र पूर्व सभामुख पीए सांग्मा चुनावी मैदानमा छन् । अधिकांश दलको समर्थन पाएका मुखर्जी राष्ट्रपति चुनिने निश्चितप्रायः छ । सत्तारुढ गठबन्धन युनाइटेड प्रोग्रेसिभ एलायन्स् यूपीएको अप्ठ्यारो घटक तृणमूल कंग्रेसले पनि अन्तिम समयमा आएर मुखर्जीलाई समर्थन गरी मतदान गरेको छ ।


कंग्रेससहित यूपीएका सबै गठबन्धनकारी घटकका अतिरिक्त बाहिरबाट सरकारलाई समर्थन गरिरहेका र विपक्षमा रहेका केही दलले समेत मुखर्जीलाई साथ दिएका छन् । समाजवादी पार्टी, बहुजन समाज पार्टी, केही वाम दल, जनता दल युनाइटेड र शिव सेना जस्ता घटकले मुखर्जीको पक्षमा मतदान गरेका बताईएको छ ।


यस हिसाबले इलेक्टोरेल कलेजको करिब ६७ प्रतिशत मत मुखर्जीले प्राप्त गर्ने निश्चित छ । मनोनित बाहेकका सबै केन्द्रीय सांसद र राज्यहरुका विधायक इलेक्टोरेल कलेजमा मतदाता रहने व्यवस्था छ । अर्का प्रत्याशी सांग्मालाई भने प्रमुख विपक्षी दल भारतीय जनता पार्टी, जयललिताको एआईडीएमके, शिरोमणि अकाली दल, बिजु जनता दल लगायतका घटकले समर्थन गरेका छन् ।


राष्ट्रपति चयनका लागि आज निर्वाचन सम्पन्न भए पनि मतगणना भने आइतबार मात्रै हुनेछ । आइतबार साँझ मतपरिणाम आउने अपेक्षा गरिएको छ । हालकी राष्ट्रपति प्रतिभादेवी सिंह पाटिलको अवधि आउँदो मंगलबार सकिने भएकाले नयाँ राष्ट्रपतिले बुधबारदेखि मात्रै रायसिना हिलमा आफ्नो काम सुरु गर्नेछन् । १३ औं राष्ट्रपतिका रुपमा रायसिना हिल पुग्ने व्यक्तिका लागि राष्ट्रपति पदको गरिमामय छवि पुनःस्थापना गर्ने चुनौती छ ।