अमेरिकाले सिरियामा सुरक्षा संयन्त्रको मुटुमै हिजो भएको तिन उच्च अधिकारीको हत्यालाई राष्ट्रपति बशार अल असादले नियन्त्रण गुमाइरहेको उदाहरण भएको तर्क गरेको छ । ह्वाइट हाउसका प्रवक्ता जे कार्नेले आक्रमणले स्पष्ट रुपमा असादले नियन्त्रण गुमाइरहेको भन्दै सम्पूर्ण अन्तर्राष्ट्रिय सहयोगीहरुले परिवर्तनलाई समर्थन गर्नु पर्ने बताए ।
राष्ट्रपति असादका भिनाजु आसेफ सौकत, रक्षा मन्त्री जनरल दाउद र आपतकालीन समुहका प्रमुख राष्ट्रिय सुरक्षा मुख्यालयमा बैठकमा रहेका बेला बम आक्रमणमा मारिएका थिए । विद्रोही समुहले एक दिन अगाडि नै त्यहां बम राखिएको र असाद सरकार अब पतन हुने अनुमान गरेको छ ।
यता सरकारी सेनाले सिरियालाई आपराधिक र हत्यारा समुहबाट मुक्त गराईछाड्ने प्रतिवद्धता जनाएको छ । यसैबीच हिजो मात्र सिरियाका विभिन्न शहरमा भएका संघर्षमा १ सय २४ सर्वसाधरण सहित २ सय १४ जना मारिएको अधिकारकर्मीहरुले जनाएका छन् भने आज पनि सरकारी सेना र विपक्षीबीच भीषण संघर्ष भैरहेको छ ।
अधिकारकर्मीहरुले दक्षिणी दमस्कसको एक शव यात्रामा समेत सरकारी सेनाले हेलिकप्टरबाट आक्रमण गरेको जनाएका छन् । सिरियाका विगत १६ महिना यता राष्ट्रपति बशार अल असादको शासन विरुद्धको विद्रोहमा १६ हजार भन्दा बढी मानिस मारिईसकेका छन् ।