सुन्दरीजल । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले भइसकेका सहमति समझदारी उल्टाउने र कार्यान्वयन नगर्ने गरेर एमाओवादीले सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउनभएको छ ।
तीसौँ बिपी स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस क्षेत्र नं ४ काठमाडौँले आज चुनीखेलमा आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति कोइरालाले माओवादीले बाह्रबुँदे समझदारीदेखि पछिल्लो पटकको राज्य पुनःसंरचनासम्मका सहमतिमा आफूखुसी व्याख्या गर्ने र कार्यान्वयन नगर्ने गरेकाले नै जेठ १४ मा संविधान नआएको हो भन्नुभयो ।
पार्टी केन्द्रीय सदस्य सुप्रभा घिमिरे र काँग्रेस काठमाडौँका सभापति भीमसेनदास प्रधानलगायतले वर्तमान अन्योल हटाउन मेलमिलाप नीतिअनुरुप काँग्रेसकै नेतृत्वमा कदम लिइनुपर्ने बताउनुभयो ।
क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न जातका एक हजार वृक्ष रोपिएको थियो । -RSS