अन्तर्राष्ट्रिय फुटवल महासंघ फिफाका अध्यक्ष पदका पुर्व उम्मेदवार मोहमद विन हमामले घुस दिएको आरोपमा फुटबल गतिविधिमा लगाइएको आजीवन प्रतिबन्धविरुद्ध अन्तराष्ट्रिय खेलकुद अदालतमा गरेको अपिलको मुद्दा जितेका छन् । विश्वभरका खेलकुद विवाद र आर्थीक अनियमितता हेर्ने सर्वोच्च निकाय कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट सी.ए.एस.को फैसलाले हमामलाई फुटबल गतिविधिबाट आजिवन प्रतिवन्ध लगाउनु नपर्ने जनाएको हो । तर अदालतले भ्रष्टाचार र घुसखोरी काण्डमा हमामलाई निर्दोस साबित भने गरेको छैन ।
फिफाले भने अनुसन्धान पूरा नभएकोले हमाम विरुद्धको मुद्दा पुनः चलाउन सकिने जनाएको छ । कतारका धनाढ्य हमामलाई एसियाली फुटबल महासंघ ए.एफ.सी.को अनुशासन कमिटीले आर्थिक व्यवहारमा आचारसंहिता उल्लंघन गरेको आरोपमा अध्यक्ष पदबाट गत सोमबार मात्रै ३० दिनका लागि निलम्बन गरेको थियो । हमामले गत वर्षको निर्वाचनमा फिफाको अध्यक्ष पदमा सेप ब्लाटरलाई चुनौती दिएका थिए । निर्वाचनअघि क्यारेबियन क्षेत्रमा प्रचारका क्रममा गरिएको भेलामा मतदाताहरुलाई प्रतिव्यक्ति ४० हजार डलर दिएको आरोप लागेपछि हमामले उम्मेदवारी फिर्ता लिएका थिए । त्यही आरोपमा फिफाले फुटबलबाट आजीवन प्रतिबन्ध लगाएको थियो । त्यसमा पैसाको स्रोत हमाम नै हुन् भन्ने प्रमाणित नभएको भन्दै सी.ए.एस.ले उनी निर्दोष भएको फैसला गरेको हो ।
अदालतले आफ्नो पक्षमा फैसला सुनाएपनि हमामले भने आफु फुटबलमा नफर्किने र सबै गतिविधिबाट सन्यास लिने संकेत गरेका छन् । ४२ वर्ष अन्तराष्ट्रिय फसटबलमा सेवा गरेपनि पछिले वर्ष यो खेलका अत्यन्तै कुरुप आफुले देखेको हमामले बताएका हुन् । बी.बी.सी. को टेजिभिजन कार्यक्रममा बोल्दै हमामले अन्तराष्ट्रिय अदालतको फैसलापछि आफ्नो लागि विश्व फुटबलबाट सम्मानजनक अवकाश लिने अवसर आएको प्रतिक्रिया दिए ।