आर्थिक अनियमितता, विप्पा लगायतका विषयमा चर्को विवाद, कुर्सी हानाहान गर्दै एकीकृत माओवादीको बठैक आगामी माघमा महाधिबेशन गर्ने प्रस्ताव गर्दै सम्पन्न

एकीकृत नेकपा माओवादीको महाधिबेशन आगामी माघमा गर्न प्रस्ताव गरिएको छ । राजधनीमा जारी सातौं बिस्तारित बैठकमा माघमा महाधिबेशन गर्न पोलिट्ब्युरो बैठकले प्रस्ताव गरेको हो ।

 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रतिवेदनमा समूहगत छलफलबाट आएका निष्कर्ष प्रस्तुतिपछि त्यसमा उठेका प्रश्नहरुको जवाफ नेताहरुले दिएपछि आजै बैठक समापन भएको हो ।

 

उपाध्यक्ष बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले सरकार र आफ्नाबारेमा उठाईएको प्रश्नको जवाफ दिएका थिए । अध्यक्ष प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिएका थिए र संसोधन सहित प्रतिवेदन पारित गरिएको थियो।

 

विभिन्न ब्यूरो र राज्य समितिका टोली नेताहरुले सरकारका काम र भारतसंग जोडिएका विषयमा उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको चर्को आलोचना गरेका थिए ।

 

पार्टी भित्रको आर्थिक अनियमितता, सरकारले भारतसँग गरेको विप्पा सम्झौताजस्ता विषयहरूमा चर्को विवाद भएपछि साउन २ गतेदेखि सुरु भएको विस्तारित बैठक पटक पटक प्रभावित बनेको थियो ।