माघमा महाधिवेशन गर्न भन्दै एकीकृत माओवादीद्धारा केन्द्रदेखि स्थानीय तहसम्मका सबै समितिहरु भंग, पुष्पकमल दाहालले महंगो घर, गाडी छाड्ने

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिदेखि स्थानीय तहसम्मका सबै समिति भंग गरेका छन्।


पाँचदिनदेखि चल्दै आएको विस्तारित बैठकको अन्तिम दिन शनिबार, बीस वर्षदेखि एकछत्र नेतृत्व गर्दै आएका माओवादी अध्यक्ष प्रचण्डले आगामी माघमा पार्टीको महाधिवेशन प्रस्ताव गरेका छन्।


महाधिवेशनका लागि प्रचण्डको अध्यक्षतामा चार सदस्यीय ‘कार्यालय’ बनाइएको पार्टी सचिव पोष्ट बहादुर बोगटीले बताए।

प्रचण्डको अध्यक्षतामा यस अघि पदाधिकारी रहँदै आएका अध्यक्ष प्रचण्ड, उपाध्यक्षहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ तथा सचिव पोष्टबहादुर बोगटी संलग्न एउटा समिति बनाइएको र त्यसलाई ‘कार्यालय’ नाम दिइएको सचिव बोगटीले बताए।


उनका अनुसार केन्द्रीय समिति अब महाधिवेशन आयजक समिति बनेको छ र सबै केन्द्रीय सदस्य उक्त समितिका सदस्य रहनेछन्।

 

स्थानीय तहका सबै समितिलाई पनि महाधिवेशन आयोजक समितिमा परिवर्तित गरिएको छ।

मुख्य नेताहरुको सचिवालयमा समेत व्यापक हेरफेर गरिने बताइएको छ।


त्यस्तो हेरफेर गर्नुको कारणबारे बोगटीले भने, “पार्टीलाई नयाँ ढंगबाट सुदृढीकरण गरेर लैजान अध्यक्ष लगायत कार्यालयका सबै सदस्यको सचिवालयमा हेरफेर गर्ने निर्णय गरिएको हो।”


एकीकृत माओवादी फुटेपछि पहिलोपटक आयोजना गरेको विस्तारित बैठक आर्थिक अनियमितता र पार्टीभित्रका गुटबीचको तनावका कारण पटक पटक अवरुद्ध हुन पुगेको थियो।


गुटउपगुटलाई कडाइका साथ नियन्त्रण गर्ने घोषणा पनि प्रचण्डले समापन वक्तब्यमा गरेको बताइएको छ।

 

 

पुष्पकमल दाहालले लाजिम्पाटस्थित महंगो घर छाड्ने

 

 माओवादी अध्यक्ष पुष्पकमल दाहालले लाजिम्पाटस्थित महंगो घर छाड्ने भएका छन् ।

 

दाहालको जीवनशैली महंगो र भडि्कलो भएको भन्दै राजधानीमा जारी विस्तारित बैठकमा चर्को आलोचना भएपछि दाहालले लाजिम्पाटस्थित निवास छाड्ने भएका हुन् । ‘अध्यक्षले हाल चढ्दै आएको महंगो गाडी छोड्ने र बस्दै आएको लाजिम्पाटस्थित डेरा पनि छोड्ने,’ विस्तारित बैठक प्रचार संयोजक विश्वभक्त दुलाल ‘आहुति’ले भने, ‘पूर्व प्रधानमन्त्रीलाई सरकारले दिने सुविधा मात्र उपयोग गर्ने ।’

 

नयाँ बजारस्थित पुरानो निवास साँघुरो भएको भन्दै गत माघ ५ गते दाहालले लाजिम्पाटस्थित महंगो रातो घर सरेका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी नयाँबजारस्थित निवासमै बस्दै आएका थिए । नयाँ भवनका लागि माओवादीले मासिक एक लाख रुपैयाँ भाडा तिर्ने दाबी गरे पनि कतिपयले दाहालले नै त्यो भवन किनेको बताउँथे ।

 

यसैगरी माओवादी अध्यक्ष दाहाल र उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको सवै चल अचल सम्पत्ति आर्थिक समितिमा बुझाउने र आर्थिक समिति मार्फत सवै वितरण गर्ने व्यवस्था मिलाउने माओवादीले जनाएको छ ।

 

माओवादीले अध्यक्ष र उपाध्यक्षको सचिवालयमा आमूल हेरफेर गर्ने निर्णय गरेको छ । सचिवालयका कर्मचारी पनि साटफेर गर्ने र त्यो निर्णय व्यक्तिले नभई पार्टीको संस्थागत निर्णयमा हुने माओवादी निर्णयमा लेखिएको छ ।

 

Source: BBC/Kantipur