पार्टीहरुबीच सहमति भए प्रधानमन्त्रीको राजिनामा आउने एमाओवादीका पुष्पकमल दाहालको भनाई

गंगा बीसी, कान्तिपुर  

 

काठमाडौं – एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीहरुबीच सहमति भए प्रधानमन्त्रीको राजिनामा आउने बताए । सातौं विस्तारित बैठक शनिबार सम्पन्न भएपछि आइतबार  आयोजित पत्रकार सम्मेलन उनले भने, ‘अहिलेकै अवस्थामा प्रधानमन्त्रीले राजिनामा दिनुहुँदैन ।’ राजीनामा दिए मुलुक झन् जडिलतातिर धकेलिने उनको दाबी थियो ।

‘एमाले र कांग्रेसले सहमति गरे प्रधानमन्त्रीको राजिनामा आउँछ’ उनले भने । दाहालले संविधानसभाको चुनावका लागि एमाले तयार भइसकेको अवस्था छ र कांग्रेसले पनि त्यस्तै मनसाय प्रकट गरेकाले चुनावमै सहमति हुन सक्ने सम्भावना व्यक्त गरे ।


अहिलेसम्म प्राप्त उपलब्धीलाई रक्षा गर्दै अगाडि बढ्नु पर्ने उनको धारणा थियो । दाहालले धर्म निरपेक्षता, गणतन्त्र र संघीयता जस्ता क्रान्तिकारी उपलब्धिलाई जोगाउँदै देश र जनताका लागि त्याग गर्न आफ्नो पार्टी सदा तयार रहेको बताए । ‘हामी ज्यानको बलिदान गर्न हिँडेकाहरूलाई त्याग गर्न कुनै अप्ठ्यारो छैन, शान्ति, संविधान र जनहितका लागि हामी जस्तो सुकै त्याग गर्न पनि तयार छौं,’ उनले भने, ‘सुरक्षाको चिन्ता त ज्यानको माया भएकाहरूका लागि हो ।’


पार्टीभित्रको मतभेदका विषयमा बाबुराम, नारायण काजी र पुष्पकमल एकै रहेको उनको धारणा थियो । राजनीति एकै, विचार एकै भएकाले हामी भित्र कुनै समस्या छैन । पार्टीभित्र गुट र उपगुट समाप्त पारेर हामी अगाडि बढ्छौं ।


सेना समायोजनाका विषयमा कांग्रेस एमालेको बुझाइ गलत भएको उल्लेख गर्दै दाहालले भने, ‘सेना समायोजन र सेना भर्ती एकै होइन ।’ यदि कांग्रेस एमालले एकै प्रक्रियामा लैजान खोजे सबै लडाकुलाई फिर्ता बालाउने उनले बताए । ‘हामी लडाकुलाई समायोजन छोड्न लगाएर हतियार संग्रहालयमा राख्न सक्छौं’ दाहालको कथन थियो ।


पत्रकार सम्मेलनमा पार्टी उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराईले अन्तरिम संविधान संशोधन गरेर मुलकलाई निकास दिन आफ्नो सरकारले पहल गर्ने बताए । अर्का उपाध्यक्ष नारायण काजी श्रेष्ठले राष्ट्रियताका विषयमा पार्टीभित्र केही मतान्तर देखिए पनि त्यसलाई छलफल गरेर अगाडि जाने बताए ।


प्रेस वक्तव्यको पूर्ण पाठ


एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)


महाधिवेशन आयोजक समिति


प्रेस वक्तव्य


प्रिय पत्रकार मित्रहरू,


१. हाम्रो महान् तथा गौरवशाली पार्टी एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को सातौं विस्तारित बैठक अध्यक्ष कमरेड प्रचण्डको अध्यक्षतामा यही २०६९ साल साउन २ गतेदेखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा भव्य र शानदार रूपमा सम्पन्न भएको छ ।


अन्तर्राष्ट्रिय गीतबाट सुरु गरिएको उद्‍घाटन कार्यक्रममा महान् जनयुद्ध, जनआन्दोलन तथा राष्ट्रिय स्वाधीनता एवम् जनतन्त्रका अमर सहिदहरूप्रति १ मिनेट श्रद्धाञ्जलि अर्पणपछि सातौं विस्तारित बैठकको उद्‌घाटन क. अध्यक्षले गर्नुभयो । सचिव कमरेड पोष्टबहादुर बोगटीले उद्‍घोषण गर्नुभएको उक्त कार्यक्रममा सातौं विस्तारित बैठक व्यवस्थापन मूल समितिका संयोजक क. कृष्णबहादुर महराले व्यवस्थापनबारे जानकारी एवम् सहभागी कमरेडहरूलाई स्वागत गर्नुभएको थियो ।


उद्‌घाटन सत्रमा अध्यक्ष कमरेड प्रचण्डले भन्नुभयो, संविधानसभाको दुःखद अवशान भएको र पार्टीको एउटा हिस्सा अलग भएको विशिष्ट परिस्थितिमा हुन गइरहेको यो विस्तारित बैठक विशिष्ट अर्थ र महत्वको हुनेछ । विचारको विकाससहित रणनीति र कार्यनीतिमा परिमार्जन गर्दै हामी अघि बढ्नेछौं ।अहिलेसम्म भएको गल्ती कमजोरीलाई स्वीकार्दै र सच्याउादै हामी पार्टीलाई सुदृढ र सबल बनाउनेछौं । सबै गुटहरूको अन्त्य गर्दै पार्टीलाई एकतावद्ध गरिनेछ । र अध्यक्षको नाताले यो प्रक्रियाको थालनी मेरै ठाउाबाट गरिनेछ । त्यस्तै उपाध्यक्ष क. बाबुराम भट्टराईले यो विस्तारित बैठक ऐतिहासिक महत्वको हुने छ । एकातिर आमूल परिवर्तन छाड्छ कि भन्ने चिन्ता अर्कातिर शान्ति र संविधान छाड्छ कि भन्ने चिन्ता दुवै चिन्तालाई चिर्दै हामी अघि बढ्नेछौं । माक्र्सवादीहरू आलोचनात्मक र क्रान्तिकारी हन्छन् । हामी त्यस्तै छौं हुनुपर्छ । अहिलेको अवस्थामा गुटहरू नभत्काए पार्टी बनाउन सकिन्न भन्नुभयो । त्यस्तै अर्का उपाध्यक्ष क. प्रकाशले पार्टीलाई एकताबद्ध गर्दै राष्ट्रिय स्वाधीनता र क्रान्तिको दिशामा अघि बढोस् भन्ने सबैको अपेक्षा रहेकोछ । क्रान्तिप्रतिको निष्ठा, सिद्धान्त निष्ठता, गतिशीलता, सिर्जनशीलता, रणनीतिक दृढता र कार्यनैतिक लचकता र आवश्यक पर्दा छलाङ मार्ने हाम्रो नेतृत्वको विशेषताहो । गल्ती, कमजोरी र नकरात्मक प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्नैपर्छ । गुटबन्दी विष वृक्ष हो यसलाई अन्त्य गरिनेछ भन्नुभयो ।


२. बैठकको दोस्रो तथा बन्दसत्रमा अध्यक्ष क. प्रचण्डले ‘पार्टी र क्रान्तिका अगाडि उत्पन्न सङ्कट र सर्वहारा वर्गको ऐतिहासिक कार्यभार’ नामको राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभयो ।


प्रतिवेदनका महत्वपूर्ण सार निम्नअनुसार रहेको छ –