कांग्रेस-एमालेद्धारा नयाँ सरकार बन्ने टुंगो नहुँदासम्म नयाँ प्रधानमन्त्रीको उम्मेदवार को भन्ने सार्वजनिक नगर्ने सहमति

काठमाडौं – नेपाली कांग्रेस एमाले नयाँ सरकार बन्ने टुंगो नहुँदासम्म नयाँ प्रधानमन्त्रीको उम्मेदवार को भन्ने सार्वजनिक नगर्ने सहमति गरेका छन् । सरकार बन्ने टुंगो नभई प्रधानमन्त्रीको उम्मेदवार तोक्नु ठिक नहुने भन्दै यस विषयमा सार्वजनिक टिकाटिप्पणी पनि नगर्ने निष्कर्ष निकालेका छन् ।


केही दिन यता एमाले नेताहरुले कांग्रेसले उम्मेदवार तय नगर्दा समस्या भएको उल्लेख गर्दै आँट नगर्ने हो भने एमालेले विकल्प दिने धारणा सार्वजनिक गरेका थिए । अध्यक्ष झलनाथ खनाल,  वरिष्ठ नेताहरू माधवकुमार नेपाल र केपी ओलीले पनि पहिलो प्राथमिकता कांग्रेस नै भएको तर तयार नहुने हो भने एमालेले विकल्प दिने धारणा पार्टीका र सार्वजनिक कार्यक्रममार्फत अघि सारेका थिए ।


यसै सन्दर्भमा कांग्रेस नेताहरू सहमति, सरकार र आन्दोलन लगायतका विषयमा छलफल गर्न मंगलबार दिउँसो एमाले मुख्यालय बल्खु पुगेका थिए । बैठकमा दुई दलले सहमति निर्माण र नयाँ सरकार गठन लगायतका विषयमा बुधबार माओवादीसँग छलफल गर्ने भएका छन् ।


माओवादीसँगको छलफलपछि मात्र कसरी अघि बढ्ने टुंगो लगाउने बैठकपछि दुवै दलका नेताहरूले जानकारी दिए । ‘मुलुकलाई कसरी निकास दिने भन्ने सम्बन्धमा हाम्रो कुराकानी भएको हो, माओवादी अब कसरी अघि बढ्छ त्यसपछि मात्र हाम्रो राणनीति तय हुन्छ’ बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने । उनले राजनीतिक सहमति नै नभएको अवस्थामा प्रधानमन्त्रीको उम्मेदवार तोक्नु आवश्यक नरहेको बताए ।


एमाले उपाध्यक्ष वामदेव गौतमले भने सार्वजनिक रूपमा कसले नेतृत्व गर्ने भन्ने सम्बन्धमा टिप्पणी नगर्ने सहमति  भएको जानकारी दिए । ‘यो सरकार संवैधानिक छैन त्यसले कसरी अघि बढ्ने, सहमति खोज्ने भन्नेमै हामी छलफलमा बसेका हौं’ उपाध्यक्ष गौतमले भने,’ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सार्वजनिक रूपमा नबोल्ने कुरा भएको छ, अरू त फेरि छलफलबाट तय हुन्छ ।’ उनले सत्तारुढ गठबन्धनविरुद्घको आन्दोलन मौसमका कारण अघि बढ्न नसकेको उल्लेख गर्दै अब पनि सहमतिको दिशामा नजाने हो भने आन्दोलन चर्काउँदै लैजाने धारणा राखे ।

 

कान्तिपुर