धेरै समय घरमा बिताउने कारण यस्तो कुरा अभिभावकले ध्यान दिनुपर्ने जनप्रकाश उच्चमावि भण्डारढिकका प्राध्यापक शिवमणि भण्डारीले बताए । उनले भने, ‘विद्यार्थीलाई अभिभावक बोलाउन पठायो कतिले भन्दैनन्, कति थाहा पाएर पनि आउँदैनन् ।’ कलेज पोसाकमै दैनिक ४० देखि ५० विद्यार्थी जंगल या एकान्त स्थानमा गाँजा, चुरोट तानेको देखिने गरेको उनले बताए । प्रवेशिकापछिको फुर्सदमा विद्यार्थी बिग्रने सम्भावना बढेको शिक्षकको अनुभव छ ।
अभिभावकले छोराछोरीका विषयमा कलेज आएर बुझ्ने गरे समस्या कम हुने प्राध्यापक सन्तोष अधिकारीले बताए । कतिपय अभिभावकलाई आफ्ना छोराछोरी बिरामी पर्दा या पढ्न छाड्दा मात्र कुलतमा फसेको थाहा हुने गरेको छ । त्यसमा उनीहरूले समस्यालाई लुकाउने र झारफुक गर्नतिर लाग्दा कतिपयको मृत्युसमेत भएको छ । छोरा छात्राबासबाट भागेर घर आउने र दिनभर डुलेर कलेजै नजाने भएपछि सिर्जनाचोककी मायालाई आफ्नो छोरो कुलतमा फसेको थाहा भएको थियो । उनले भनिन्, ‘सामान्य होला भनेको त भित्रभित्रै आफ्ना कपडासमेत बेचेर सुई हान्न थालेछ ।’ समयमै ध्यान नदिँदा १२ वर्षदेखि नै बालबालिका लागू औषधमा फस्न थालेका छन् । प्लस टु पढ्ने आधाभन्दा बढी विद्यार्थीले चुरोट र गाँजा खाने गर्छन् । तीमध्ये छात्राहरू प्ानि उत्तिकै छन् । तर पुनस्र्थापना केन्द्रमा कमै मात्र आइपुग्छन् । अन्तिम अवस्था हुँदा मात्र धेरै यहाँ आइपुग्ने नौलो घुम्तीकी कार्यक्रम संयोजक मुना ज्ञवालीले बताइन् । उनले भनिन्, ‘फसेको तीनदेखि चार वर्षपछि मात्र हामीकहाँ आउँछन् ।’
यसरी थाहै नपाई कुलतमा फस्दा हेपाटाइटिस बी, सी, यौन तथा एचआईभी संक्रमण हुन सक्ने र रोग एक अर्कोमा सर्ने सम्भावना बढी हुने मनोरोग विशेषज्ञ डाक्टर लुमेश्वर आचार्यले बताए । उनले भने, ‘हामीकहाँ उपचार गर्न १७ देखि ३० वर्षसम्मका आउँछन्, तिनलाई कुनै संघसंस्थाले लिएर आउँछन् ।’