भारत आसामको कोकराझाड इलाकामा फैलिएको जातीय हिंसाको अझै अन्त्य हुन सकेको छैन । हिंसामा परि अहिलेसम्म ४१ जना मारिइसकेका छन् ।
डेढ लाखभन्दा बढी व्यक्ति विस्थापित भएर विभिन्न शिविरमा पुगेका छन् ।
हजारौं हजार नागरिक घर छाडेर भागेका छन् । हिंसा प्रभावित जिल्लामा थुप्रै शरणार्थी शिविर बनाइएका छन् । स्थिति नियन्त्रणबाहिर जान थालेपछि केन्द्र सरकारले घटनामा संलग्न दोषीहरुलाई तत्काल पक्रेर कार्वाही थाल्न राज्य सरकारलाई निर्देशन दिएको छ ।
राज्य सरकारले पनि हिंसा फैलाउन खोज्ने जोसुकैलाई गोली हान्नेसम्मको आदेश दिएको छ भने अनिश्चितकालका लागि कफ्र्यू लगाएको छ ।
गत आइतवार कोकराझाड जिल्लामा दुई मुस्लिम विद्यार्थी नेतामाथि अज्ञात समूहले गोली हानेपछि भएको प्रतिकारमा बोडो लिबरेशन टाइगर्स नामक संगठनका चार जना मारिएका थिए । त्यसपछि त्यहाँ हिंसाले विशाल रुप लिएको हो ।