सिरियामा विपक्षी सिरियन राष्ट्रिय परिषद्का प्रमुख अब्दुलबासेट सायदाले विद्रोही लडाकुहरुलाई हतियार उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । विद्रोहीले नियन्त्रण कायम गरेको एलेप्पो शहरमा सरकारी सेनाले लगातार आक्रमण गर्न थालेपछि सायदाले यस्तो आह्वान गरेका हुन् ।
साउदी अरबको अबुधाबीमा पत्रकारहरुसंग कुरागर्दै सायदाले सरकारी सेनाको ट्यांक र युद्धक विमानको आक्रमण निस्तेज पार्न पनि हतियारको खाँचो रहेको बताए । सिरियाका विद्रोहीले अहिलेसम्म अन्तर्राष्ट्रिय समुदायबाट सैन्य सहयोग नपाएको बताइन्छ ।
तर गत अप्रिलमा भने खाडी मुलुकहरुले फ्रि सिरियन आर्मीका लडाकुहरुलाई भत्ता दिन सहमत भएका थिए । राष्ट्रपति बशार अल असाद शरणको माग गर्नु भन्दा नरसंहार गर्न उद्धत रहेको सायदाको आरोप थियो ।
यसैबीच विगत दुई हप्ता यता विद्रोहीले नियन्त्रण कायम राखेको एलेप्पोमा पून आफ्नो नियन्त्रण कायम गर्न सरकारी सेनाले हवाई र स्थल आक्रमण गरिरहेको छ । आक्रमणमा धेरै जना मारिनुका साथै घाइते भएका छन् ।
पश्चिमा मुलुकहरुले सिरियाको सबैभन्दा घना आवादी एलेप्पो शहरमा जारी संघर्षले त्यहां नरसंहार निम्तने चेतावनी दिएका छन् । सिरियामा राष्ट्रपति असादको शासन विरुद्ध १६ महिना यताको संघर्षका क्रममा २० हजार भन्दा बढी मानिस मारिइसकेका छन् ।