भारतको आन्ध्र प्रदेशमा गुडिरहेको एउटा रेलमा आगलागी हुँदा कम्तिमा ४७ यात्रुको मृत्यु

भारतको आन्ध्र प्रदेशमा गुडिरहेको एउटा रेलमा आगलागी हुँदा कम्तिमा ४७ यात्रुको मृत्यु भएको छ । राजधानी दिल्लीबाट चेन्नाई जाँदै गरेको तमिल नाडु एक्सप्रेसको रेलमा आज विहान स्थानीय समयअनुसार ४ वजेर २० मिनेट जाँदा भिषण आगलागी भएको हो । आगलागी हुँदा प्रायः यात्रु सुतिरहेका थिए ।


आगलागीको कारण हालसम्म थाहा हुन सकेको छैन् । आन्ध्र प्रदेशको राजधानी हैदरावादबाट ५ सय किलोमिटर दक्षिणमा पर्ने नेलोर स्टेशन नजिकै आगलागी भएको हो । आगलागीमा परी २८ यात्रु घाइते भएकाले मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।

 
संसारकै व्यस्त रेलमार्ग मध्येको एक भारतमा रेल दुर्घटना र आगलागीका घटना भइरहन्छन् । भारतका विभिन्न राज्यसँग जोड्ने रेलवे संजालमा दैनिक ९ हजार रेल आवतजावत गर्दछन् भने दैनिक १ करोड ८० लाख यात्रुले रेलमार्फत यात्रा गर्दछन् ।