– दिलीप पौडेल
बाग्लुङ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पार्टीलाई एकजुट बनाएर लैजान नसक्ने दलहरुले मुलुकलाई संघीयतामा लगेर एकता कायम गर्न नसक्ने तर्क गरेका छन्। माओवादी र मधेशी दलहरुमा भएको फुटप्रति लक्षित गर्दै केसीले भने, ‘आफ्नै पार्टीमा एकता कायम गर्न नसक्नेले संघीयताको चर्को नारा लगाएका छन्। जातीय आधारमा संघीयता भए मुलुकलाई एकता बनाएर लैजाने कसैसँग सामर्थ्य छैन।’
गृह जिल्ला आएका केसीले राष्ट्रिय जनमोर्चाको आयोजनामा सोमबार बाग्लुङमा भएको पत्रकार भेटघाटमा यस्तो बताएका हुन्। उनले विदेशीको स्वार्थमा हावादारी ढंगले मुलुकलाई संघीयताबाट विभाजन गर्न खोजिएको टिप्पणी गरे।
आधा जनसंख्या भएको तराईलाई दुई प्रदेश र अन्य हिमाल, पहाडलाई १० प्रदेशमा लैजानुपर्छ भन्ने मधेशी दलको योजना विदेशीको षडयन्त्रमा भएको आरोप लगाए।
चीनले राजनीतिक मुद्दामा पहिलो पटक मुख खोलेकोमा उनले घुमाउरो पाराले स्वागत गरे। ‘राजनीतिक विषयमा कहिलै नबोल्ने चीनले नेपालले जातीय संघीयता थेग्न सक्दैन भनेको छ,’ उनले भने।
संविधान नबनेर मुलुक टुक्रिनबाट जोगिएको बताउने केसीले दलहरुबीच सहमति जुटाएर संविधान सभाको निर्वाचनमा जानुपर्ने बताए।