नेपालमा राजनैतिक गतिरोध लम्विएको प्रति भाजपाका बरिष्ठ नेता तथा पूर्व मन्त्री यसवन्त सिन्हाको चिन्ता

भारतीय जनता पार्टीका बरिष्ठ नेता तथा पूर्व मन्त्री यसवन्त सिन्हाले नेपालको राजनैतिक गतिविधिका बारेमा चासो राख्नु भएको छ । मंगलबार विहान प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई भेटनुभएका सिन्हाले दलहरुबीचको पछिल्लो गतिविधि र राजनैतिक सहमतिको प्रयासका बारेमा जिज्ञासा राख्नुभएको थियो । 



दलहरुबीच सहमति नभई राजनैतिक गतिरोध लम्विएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।



सिन्हाले संविधान नवनि संविधानसभा भंग भएकोको बारेमा पनि जिज्ञासा राख्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । जवाफमा प्रधानमन्त्री भट्टराईले दलहरुबीचको सम्बाद जारी रहेको जानकारी दिनुहुँदै चाँडै राजनैतिक गतिरोध अन्त्य हुने बताउनुभयो । सर्वोच्च अदालतले संविधानसभाको आयु बढाउने अधिकार नदिएकाले संविधान सभा भंग्ग भएको भन्दै प्रधानमन्त्रीले अव नयाँ जनादेशका आधारमा संविधान बनाउने बताउनुभयो ।



निजी भ्रमणका लागि भन्दै सोमबार विहान आकस्मिक रुपमा नेपाल आउनुभएका सिन्हाले शीर्ष नेतृत्वसँग राजनैतिक भेटघाट गर्ने क्रममा आज प्रधानमन्त्रीलाई भेट्नुभएको भारतीय दूतावासले जनाएको छ ।