नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको सिन्धुपाल्चोकको बाह्रबीसेमा सम्पन्न दुई दिने भेला १४ बूँदे घोषणा पत्र जारी गर्दै हिजो साँझ सकिएको छ । भेलाले कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाई संसदको निर्वाचनमा जानु नै एकमात्र विकल्प भएको निष्कर्ष निकालेको छ । घोषणापत्रमा संविधान सभाको पुनस्थापना वा संविधान सभाको अर्को निर्वाचनलाई पूरै अस्वीकार गरिएको छ ।
भेलाले २ सय ४० निर्वाचन क्षेत्रलाई आधार मानेर संसदको निर्वाचन गर्न सुझाव दिएको छ । भदौ महिनाभर एमाओवादीसंग सहमतिका लागि प्रयास गर्न सुझाव दिदै त्यसबीचमा सहमति नभए असोज लागेपछि सशक्त आन्दोलनमा उत्रेर सम्झौताहीन आन्दोलन चर्काउनु पर्ने ठहर भेलाको छ ।
यस्तै सकेसम्म असोजभित्रै पार्टीको महासमितिको वैठक डाक्न र त्यसो गर्ने अवस्था नभए केन्द्रीय कार्यसमितिलाई विधान संशोधनको अख्तियारी पनि भेलाले दिएको छ ।
यस्तै कांग्रेस जिल्ला सभापतिहरुको भेलाले माओवादीले युद्धकालमा कब्जा गरेका घरजग्गा अझै फिर्ता नगरेकोप्रति आक्रोश ब्यक्त गर्दै तत्काल घरजग्गा फिर्ता गर्न माग गरेको छ । भेलामा सहभागी सभापतिहरुले यसअघि आफ्नो धारणा राख्ने क्रममा पार्टी नेतृत्वले देशको परिस्थिति अनुसार भूमिका खेल्न नसकेको भन्दै नेतृत्वको आलोचना गरेका थिए । मुलुक गतिरोधमा फसेको बेला कांग्रेसले सिन्धुपाल्चोकको बाह्रविसेमा जिल्ला सभापतिहरुको भेला आयोजना गरेको हो । -RSS