सरकारले नेपाली सेनाका बलाधिकृत रथी गौरव शमसेर राणालाई कामु प्रधानसेनापति नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले साउन २६ गतेदेखि राणालाई कामु प्रधानसेनापति नियुक्त गरेको सञ्चार मन्त्री राजकिशोर यादवले जानकारी दिए । प्रधानसेनापति छत्रमानसिंह गुरुङ भदौ २४ गतेदेखि बिदामा बस्दैछन् । गुरुङले भदौ २४ गते अवकास पाउँदैछन् ।
प्रधानसेनापति बनाउनकै लागि सरकारले जेठ दोस्रो साता राणालाई बलाधिकृत रथीमा स्थानान्तरण गरेको थियो । प्रधानसेनापति गुरुङको पदावधि सकिएपछि भदौ २५ गते राणाले सेनाको जिम्मेवारी सम्हाल्नेछन् ।
निर्वाचनका लागि टोली
सरकारले दलहरुसँग सहमति गरी सम्भव भए मंसिर ७ गते निर्वाचन गराउनका लागि वार्ता गर्न उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारको नेतृत्वमा मन्त्रीस्तरीय वार्ता टोली बनाएको छ । सदस्यमा पर्यटनमन्त्री पोस्टबहादुर बोगटी र भूमिसुधार मन्त्री चन्द्रदेव जोशी छन् ।
मंसिर ७ गते निर्वाचन सम्भव नभए नयाँ मिति तोक्न वार्ता टोलीले अन्य राजनीतिक दलसँग वार्ता गर्ने मन्त्री यादवले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले मुख्यसचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै राजीनामा दिने पाँच सचिवको राजीनामा स्वीकृत गरेको छ । कनिष्ट सचिव लीलामणि पौडेललाई मुख्यसचिव बनाएको भन्दै शंकर कोइराला, त्रिलोचन उप्रेती, अवनिन्द्रकुमार श्रेष्ठ, सुशील जंगबहादुर राणा र श्यामप्रसाद मैनालीले राजीनामा दिएका थिए ।
यसैगरी सरकारले चितवनको भरतपुरस्थित वीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षबाट ईश्वरमान श्रेष्ठलाई हटाएको छ । मन्त्री यादवका अनुसार डा. भक्तमान श्रेष्ठलाई नयाँ अध्यक्ष नियुक्त गरिएको छ ।