रुकुम – हिजो साँझ दुई विद्यार्थी सङ्गठनबीच भएको झडपको विषयलाई लिएर रुकुम जिल्ला अनिश्चितकालीन बन्द गरिएको छ। बन्दका कारण रुकुम सदरमुकामलगायत आसपासको बजार, कलकारखाना, विद्यालय पूर्णरुपमा बन्द छ भने यातायातसमेत ठप्प छ। बन्दका कारण रुकुम जिल्ला बाहिरिने र भित्रिने यात्रु बाटामै अलपत्र परेका छन्।
सदरमुकाम मुसीकोटस्थित मुसीकोट बहुमुखी क्याम्पसमा एमाओवादी निकट अनेरास्ववियु(क्रान्तिकारी)र एमाले निकट अनेरास्ववियुका विद्यार्थीबीच हिजो साँझ ६ बजेतिर झडप भएको थियो।
झडपमा अनेरास्ववियु क्रान्तिकारीका तीनज विद्यार्थी गम्भीर घाइते भएका छन्। घाइतेको अहिले जिल्ला स्वास्थ्य कार्यालय रुकुम उपचार भइरहेको छ भने थप उपचारका लागि गम्भीर घाइतेलाई हेलिकप्टरबाट नेपालगन्ज लैजाने तयारी भरहेको छ।
पुनः झडप हुने सम्भावना भएकाले चोक चोकमा प्रहरी तैनाथ गरिएको छ। घटनामा संलग्न २० जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अनेरास्ववियुका जिल्ला अध्यक्ष मदन खड्कालगायत रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ।
क्याम्पसले विद्यार्थीका विभिन्न माग सम्बोधन गर्नुपर्ने माग राख्दै अनेरास्ववियु (क्रान्तिकारी)ले एक सातादेखि आन्दोलन गरिरहेकाले बुधबार बेलुका क्याम्पस सञ्चालक समितिले सबै विद्यार्थी सङ्गठनलाई बोलाएर छलफल गरिरहेका बेला दुई सङ्गठनबीच झडप भएको हो।
अखिल(क्रान्तिकारी)ले गणित विषयका उपप्राध्यापक पदमबहादुर खत्रीले राजीनामा दिएपछि नियमानुसार पाउने तलब भत्ताभन्दा बढी रकम उपलब्ध गराएकाले त्यसलाई फिर्ता गराउनुपर्ने, लेखा प्रणालीलाई पारदर्शी बनाउनुपर्ने, क्याम्पसको विधान संशोधन, तत्काल क्याम्पस प्रमुखको व्यवस्था गर्नुपर्ने माग राखेर क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाएको थियो। रासस