जिल्लाको दुर्गम प्रोक गाउँ विकास समितिमा एक महिनाभित्र झाडापखालाका कारण आठ जनाको मृत्यु भएको छ ।
आठ जनाको ज्यान जाँदासम्म पनि स्थानीयवासीले स्वास्थ्य संस्थामा खबर नगरेका कारण मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । घटनाबारे थाहा पाएर आज दिउँसो सिर्दीवासबाट स्वास्थ्यकर्मीको टोली त्यसतर्फ लागेको छ ।
यस गाविस-४ मा पछिल्लोपटक एक साताभित्र दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फूर्वा लामा र छन्डी लामा रहेकी छिन् । मृत्यु हुने दुवै ६० वर्ष उमेरका रहेको प्रोकस्थित नामरुङबाट स्थानीय ठाकुर दोर्जेले जानकारी दिनुभयो । असार महिनाको दोस्रो सातादेखि प्रोकको वडा नं. ६ र ७ को छाक र क्वाक गाउँमा फैलिएको झाडापखालाका कारण यस् स्थानमा छ जना बालबालिकाको मृत्यु भैसकेको उहाँले बताउनुभयो ।
मृत्यु हुने सबैलाई पेट दुख्ने, वाकवाक लाग्ने, रिङटा लाग्ने र औषधिलेसमेत असर नगर्ने गरेको स्थानीयवासीको भनाइ छ । बिरामी परेपछि स्वास्थ्य संस्थामा नजाने र धामीझाँक्रीमा बढी चासो दिने हुनाले मृतकको सङ्ख्या बढेको हो । एउटा मरेपछि अरुलाई खबर गर्यो भने अर्को पनि मर्छ भन्ने रुढीवादी मान्यता यस क्षेत्रमा अझै रहेको स्थानीय दिलबहादुर गुरुङले बताउनुभयो ।
बिरामीको थप उपचारका लागि काठमाडौंबाट शुक्रबार हेलिकप्टरमा औषधिसहितको एक स्वास्थ्यकर्मीको टोली त्यसतर्फ लैजाने तयारीमा रहेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख विश्वराम श्रेष्ठले जानकारी दिनुभयो ।प्रकोपित यस क्षेत्रमा अझै सयौँको सङ्ख्यामा झाडापखालाका बिरामी रहेको खबर प्राप्त भएको स्वास्थ्य प्रमुख श्रेष्ठले बताउनुभयो । विगत लामो समयदेखि उत्तरी गोरखामा टेलिफोन सेवाले काम नगरेका कारण खबर गर्न नसकिएको स्थानीयवासीले गुनासो गरेका छन् । जिल्ला सदरमुकामबाट पाँच दिनको पैदल यात्रा पछि सो ठाउँमा पुग्न सकिन्छ ।
यसअघि उत्तरी गोरखाको गुम्दाको सिङ्ला, सिर्दीवासको पैंयु गाउँमा झाडापखालाको महामारी फैलिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय गोरखाले उत्तरका यी क्षेत्रहरुलाई झाडापखालाको उच्च जोखिमका क्षेत्रमा राखेको छ । दूषित खानेपानीका कारण रोग फैलिएको स्थानीयवासीले जानकारी दिएका छन् ।