अर्घाखाँची डट्कम
भक्तपुर । नेपाल क्रान्तिकारी युवा सङ्घले रुसको मास्कोस्थित रेड स्क्वायरमा रहेको महान नेता लेनिनको पार्थिव शरीर हटाउने रुसी सरकारको निर्णय फिर्ता हुनुपर्ने माग गर्दै हस्ताक्षर सङ्कलन अभियान थालेको छ ।
भक्तपुर दरबार स्क्वायरमा बिहीबार एक कार्यक्रमबीच अभियान थालनी गरियो । कार्यक्रममा बोल्दै सङ्घका केन्द्रीय सचिव प्रकाशले लेनिन रुसी जनताका नेता मात्र नभई विश्व सर्वहारा वर्गका महान पथप्रदर्शक भएको बताउँदै लेनिनको समाधिस्थल बन्द गर्न खोज्नु इतिहास मेट्ने दुःस्साहस भएको बताउनुभयो ।
लेनिनले वैज्ञानिक समाजवादको माक्स्रवादी सिद्धान्तलाई व्यवहारमा लागू गरी लेनिनवादको प्रतिवादन तथा सर्वहारा समाजवादी राज्य स्थापना गर्नुभएको उल्लेख गर्दै उहाँले माक्स्रवाद-लेनिनवाद पूँजीवादी शोषण र दमनविरुद्ध लडिरहेको करोडौं करोड जनताको निम्ति माक्स्रवाद-लेनिनवाद मार्गदर्शक सिद्धान्त रहेको छ भन्नुभयो ।
लेनिनवाद साम्राज्यवादी युगको माक्स्रवाद भएको बताउँदै साम्राज्यवादकी जगजगी बढिरहेको आजको अवस्थामा लेनिन र लेनिनवाद अझै प्रेरणादायी रहेको छ भन्नुभयो ।
भ्लादिमिर पुटिन नेतृत्वको रुसी सरकारले महान नेता लेनिनको पार्थिव शरीर अन्तै गाडेर लेनिनको समाधिस्थल बन्द गर्ने निर्णय गरेको विरोधमा ँसोभियत जनतासित मित्रता र ऐक्यबद्धताका निम्ति अन्तर्राष्ट्रिय परिषदले पनि विश्वव्यापी हस्ताक्षर सङ्कलनमा निम्ति आह्वान गरेको छ ।
कार्यक्रममा नेक्रायुसङ्घ भक्तपुर जिल्ला समितिका सहसंयोजक मीनबहादुर बाटा र सचिव राजकुमार लघु र भक्तपुर नगरपालिका संयोजक राजेन्द्र सुवालले पनि रुसी प्रतिकि्रयावादीहरुको उक्साहटमा रुसी सरकारले उक्त विश्व जनमतविरोधी निर्णय गरेको बताउँदै रुसी सरकारको निर्णयको विरोध गर्नुभयो ।
नेक्रायुसङ्घले देशका विभिन्न सहरबाट नेपाली जनताको हस्ताक्षर सङ्कलन गरी रुसी सरकार र सोभियत जनतासित भित्रता र ऐक्यबद्धताको निम्ति अन्तर्राष्ट्रिय परिषद्लाई पठाउने बताएको छ ।