वर्तमान सरकार र संघीयतामा जाने निर्णयविरुद्ध तेस्रो जनआन्दोलन आवश्यक परेको भन्दै आन्दोलनमा साथ दिन कांग्रेस-एमालेलाई मसाल महामन्त्री मोहनविक्रमको आहृवान

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले कांग्रेस-एमालेलाई अब हुने तेस्रो जनआन्दोलनमा साथ दिन आहृवान गरेका छन् ।
वर्तमान सरकार र संघीयतामा जाने निर्णयविरुद्ध तेस्रो जनआन्दोलन आवश्यक परेको भन्दै सिंहले उक्त आन्दोलनलाई कांग्रेस, एमालेले साथ दिनुपर्ने बताए । बागलुङमा शुक्रबार सिमित पत्रकारसँग महामन्त्री सिंहले सरकार ढाल्ने एजेण्डामा मोहन वैद्य समूह, राजावादीहरुको समेत साथ मिल्ने भए पनि संघीयता विरुद्धको मोर्चा आवश्यक परेको बताए । ‘हाम्रो शक्तिले मात्र संघीयताको निर्णयलाई उल्ट्याउन सम्भव छैन’ सिंहले भने, ‘दुई प्रमुख पार्टीको सहयोगले मात्र लोकतन्त्र, गणतन्त्र र राष्ट्रियताको संरक्षण सम्भव छ ।’
वर्तमान सरकार ‘भारतीय विस्तारवादको समर्थन र इशारामा’ अडेकोले सहमति छोडेर राष्ट्रघाती काम गर्दै अगाडि बढेको उनको आरोप थियो । उनले सहमतिको विरुद्धमा प्रधानमन्त्री नै लागेको समेत आरोप लगाए ।
‘कामचलाउ सरकारले जे गर्न मिल्दैन त्यही गर्दै सत्ता टिकाउने काम गरिरहेका छन्’ सिंहले भने, ‘निर्वाचन हुन नदिने परिस्थिति सिर्जना गरेर लोकतन्त्रलाइ खतरामा पारिरहेका छन् ।’ वर्तमान सरकारले पटकपटक गरेका अधिकांश निर्णयहरु राष्ट्रघाती भएको उनको भनाइ छ ।
वर्तमान सरकारले कुनैपनि निर्वाचन गर्न पाउने अधिकार नभएको भन्दै सिंहले सहमतिको सरकार गठन गरेर उक्त सरकारले सिफारिसमा मात्र दुरगामी असर गर्ने अध्यादेश ल्याउन सक्ने बताए ।
राष्ट्रपतिलाई विवादमा ल्याउन सरकारले विभिन्न अध्यादेशहरु पठाइरहे पनि अहिले राष्ट्रपति मौन बसेको उनले बताए ।