सिरियाको एलेप्पो शहरमा सरकारी सेनाद्धारा विद्रोही बिरुद्द भीषण आक्रमण, दमस्कसमा पनि युद्द जारी
श्रावण २१ गते, २०६९ मा प्रकाशित
अर्घाखाँची डट्कमलाई थाहा भए अनुसार सिरियाको एलेप्पो शहरमा सरकारी सेनाले विद्रोही बिरुद्द भीषण आक्रमण गरिरहेको छ।
यसैगरी राजधानी दमस्कसमा पनि भीषण युद्द जारी छ। सेनाले घर घरमा घुसेर मानिसहरुका कागजात माग्दै केही शंकास्पद व्यक्तिहरुलाई मारेको विपक्षीले आरोप लगाएका छन् ।
सरकारी टेलिभिजनले दर्जनौं आतंककारीले आत्मसमर्पण गरेको र केही कारवाहीका क्रममा मारिएको जनाएको छ ।
यसैगरी अर्घाखाँची डट्कमलाई थाहा भए अनुसार सिरीयाको राजधानी दमास्कस नजिकैबाट ४८ जना ईरानी धर्मावलम्बी अपहरणमा परेका छन् । सिरीयाली सरकारी समाचार संस्था सानाका अनुसार राजधानी दमास्कस नजिकैको पवित्र सिया धार्मिकस्थलबाट फर्किदै गरेका तिर्थालुलाई उनीहरु चढेको बसबाटै अपहरण गरिएको हो ।
दमास्कसमा रहेका इरानी कुटनीतिज्ञले हतियारधारी समूहले आप्mनो देशका भक्तजनलाई अपहरण गरेको बताएका छन् । सिरीया सरकारले पनि सशस्त्र विद्रोहीले ४८ ईरानी धर्मावलम्बीको अपहरण गरेको बताउँदै उनीहरुको अवस्थाबारे छानबीन सुरु भइसकेको जनाएको छ ।
सिया समुदायको बाहुल्य रहेको उक्त स्थानमा वर्षनी लाखौं धमावलम्बी दर्शनका लागि पुग्ने गर्दछन् । यसरी जाने धर्मावलम्बी मध्ये ईरान र लेबनानका सयौं धर्ममावलम्बी पछिल्लो समय अपहरणमा पर्ने गरेका छन् ।
यस अघी उता सिरियाका लागि संयुक्त राष्ट्रसंघ र अरब लीगका संयुक्त विशेष दूत कोफी अन्नानले आफ्नो पद छाडी सकेका छन। सिरियामा भैरहेको हिंसा अन्त्यकालागि आफूले दिएका सुझाव सिरियाली शासक र राष्ट्रसंघ सुरक्षा परिषद दुबैले नमानेकोमा दुःखित अन्नानले यही अगस्तमा आफ्नो पदावधि सकिएपछि त्यसको नवीकरण नगर्ने प्रष्ट गरेका हुन् ।
सिरियामा बढ्दो सैन्यकरण र सुरक्षा परिषदमा सहमति नभएकाले आफू उक्त पदमा बस्नुको औचित्य नभएको अन्नानले बताएका छन् । सिरियाको राजधानी दमस्कसमा विद्रोहीविरुद्धको सरकारी कारवाही तीब्र भएकै समयमा अन्नानको यो भनाइ आएको हो ।
कोफी अन्नानले सिरियामा युद्ध रोकेर शान्ति स्थापना गर्नका लागि ६ सूत्रीय योजना तयार पारेका थिए । तर यो योजनाको सरकार र विद्रोही दुबै पक्षले इमान्दार पालना गरेका छैनन् । अन्नानले काम नगर्ने भएपछि उनको उत्तराधिकारी अरब लीगसमेतको सल्लाहमा चुनिने राष्ट्रसंघका महासचिव बान कि मुनले बताएका छन् ।
बानले अन्नानले गरेको कामको प्रशंसा गरेका छन् । सिरियाली शासक बशार अल असादको शासनविरुद्ध उत्रेका विद्रोहीलाई समर्थन गर्दै असादलाई पदच्यूत गर्न अन्तर्राष्ट्रिय हस्तक्षेप गर्ने वा नगर्ने भन्नेमा सुरक्षा परिषदमा ठूलो मतभेद छ ।
चीन र रसियाले त्यस्तो प्रस्तावको विरुद्धमा भीटो प्रयोग गरिरहेका छन् भने अमेरिकासहितका पश्चिमा देश हस्तक्षेपका पक्षमा छन् । जसका कारण सिरियामा भने गत वर्षको मे महिना यताको संघर्षमा २० हजारभन्दा बढी मानिस मारिइसकेका छन् ।