प्रधानमन्त्री बाबुराम भट्टराई दलहरुबीच सहमति भए आफू तत्काल पद छाड्न तयार

काठमाडौं  – काठमाडौंबाट प्राप्त समाचार अनुसार प्रधानमन्त्री बाबुराम भट्टराईले दलहरुबीच सहमति भए आफू तत्काल पद छाड्न तयार रहेको बताएका छन् ।


प्राप्त समाचार अनुसार राष्ट्रपति रामवरण यादवले शीतल निवासमा आइतबार आहृवान गरेको सर्वदलीय छलफलमा प्रधानमन्त्रीले सहमति भए तत्काल पद छाड्ने बताएका हुन् । ‘दलहरुबीच सहमति भए मलाई सरकारमा एकछिन पनि बस्न मन छैन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै माले महासचिव सीपी मैनालीले भने ।


प्रधानमन्त्रीले आफूलाई काम गर्न नदिएको गुनासो पटक पटक राखिहरे । आफ्नै  दलबाट अवरोध हुँदा ठूलो मूल्य चुकाएर शान्ति प्रक्रिया पूरा गरेको उल्लेख गर्दै उनले संविधान निर्माणमा भने मुख्य दलरुले असहयोग गरेको बताए ।


संविधानसभाको म्याद थपका लागि संविधान संशोधन गर्न, घोषित चुनाव गर्न पनि असहयोग गरेको उनको भनाइ थियो । ‘अहिले आएर बजेट ल्याउन पनि दिइन,’ प्रधानमन्त्रीले गुनासो राखेका थिए ।