एमालेद्धारा सहमतिका बाधक वर्तमान सरकार भएको ठहर गर्दै सरकारविरुद्ध आन्दोलनको तयारी गर्ने निर्णय

काठमाडौँ –  नेकपा(एमाले) को स्थायी समितिको बैठकले सहमतिका बाधक वर्तमान सरकार भएको ठहर गर्दै सरकारविरुद्ध आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ। बैठकपछि वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली काँग्रेसलगायत सबै दलसँग छलफल गरेर आन्दोलनको घोषणा गर्ने निर्णयमा आफूहरु पुगेको बताए।

बैठकमा पार्टीको आन्तरिक गतिविधि र आज राष्ट्रपतिसँग भएको दलहरुको भेटबारे छलफल भएको नेता नेपालले जानकारी दिए।


त्यस्तै पार्टी सचिव विष्णु पौडेलले वर्तमान सरकारलाई विदाई गरी राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने र सोही सरकारले नै निर्वाचन गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताए।


विगतमा भएका सहमति कायम राख्दै निर्वाचनबाट आउने जनप्रतिनिधिहरुले केही समयसम्म संविधान सभाको काम गर्ने र बाँकी कार्यकाल संसदको काम गर्ने गरी सहमति गरी अगाडि बढ्नुपर्ने उनले बताए। रासस