सिरियाको दोस्रो ठूलो शहर एलेप्पोमा पुनः आफ्नो नियन्त्रण कायम राख्न सरकारी सेनाले भीषण आक्रमण गरिरहेको छ । विद्रोहीहरुले भने सेना विरुद्ध सशक्त प्रतिकार गरिरहेको दाबी गरेका छन् ।
राष्ट्रपति बशार अल असादका सेनाले हवाई र स्थल मार्गबाट आक्रमण गरेको बताइएको छ । त्यस क्षेत्रमा गत जुलाई २० बाट शुरु भएको संघर्षमा आज अहिलेसम्मकै सबैभन्दा ठूलो भीडन्त भइरहेको विद्रोही सेनाले जनाएका छन् ।
सरकारी अधिकारीहरुले भने एलेप्पोमा संघर्षको मुख्य कारवाही बांँकी नै रहेको बताएका छन् । सेनाले राजधानी दमस्कसमा विद्रोहीलाई उनीहरुको पकड रहेको अन्तिम क्षेत्रबाट हटाएको दाबी गरे पनि विद्रोहीले भने सेनालाई अगाडि बढ्न नदिएको जनाएका छन् ।