पोखरा । पोखराको मणिपाल शिक्षण अस्पताल सोमवार आठौं दिनपनि बन्द छ । अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी संघ सम्बद्ध चिकित्सकहरुले भारतीय चिकित्सक सरह सेवा सुविधा पाउनुपर्ने, अस्पतालको विनियम बनाई साढे दुईबर्षदेखि रोकिएको तलब वृद्धि हुनुपर्ने भन्दै माग पुरा नभएसम्म काममा नफर्कने बताउँदै आएका छन् ।
अस्पताल व्यवस्थापनले बन्द नगरिकन अहिलेसम्म कुनै माग पूरा नगरेकाले सेवा ठप्प पार्नु परेको अखिल नेपाल जनस्वास्थ्यकर्मी संघका सचिव डा. दीपक कोइरालाले बताए । कालो पट्टी बाँधेर जति काम गर्दा पनि माग पूरा नगरेपछि बाध्य भएर सेवा बन्द गर्नुपरेको बताए । अस्पतालमा बिरामी जाँच्नेदेखि पढाउने दुवै काम गर्दै आए पनि सेवाअनुसारको तलब र सुविधा नपाएको गुनासो गरे ।
अस्पताल बन्दको सर्वत्र आलोचना हुन थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार प्रहरीको सहयोगमा चिकित्सकले बहिरंग विभाग र अन्य वार्डमा लगाएको ११ वटा ताला फोडेको छ । सेवा सुविधा वृद्धिको माग राख्दै गत सोमबारदेखि चिकित्सकहरुले लगाएको ताला प्रहरी प्रशासनले आइतवार फोडिदिए पनि चिकित्सकहरु काममा फर्केका छैनन् । विभिन्न अस्पतालमा उपचार हुन नसकेपछि पठाइने मणिपालमा सेवा बन्द भएपछि सयौंको बिचल्ली भएको छ । बन्द जारी रहँदा बिरामीहरू कोही महँगो शुल्क तिरेर निजी क्लिनिकमा धाउन बाध्य छन् भने कोही ऋण गरेर काठमाडौंतिर । कोही भने अलपत्र छन् ।
अस्पतालले विज्ञप्तिमार्फत विगतका सहमतिमध्ये केही पूरा गरिएको दाबी गर्दै केही पालना गर्ने तयारी भइरहेको जनाएको छ । सेवा ठप्प पार्दा बिरामी मर्कामा परेको भन्दै चिकित्सकलाई काममा र्फकन पनि आग्रह गरेको छ । तर बन्द र बिरामीलाई परेको मर्काबारे पत्रकारहरूको जिज्ञासामा अस्पतालका प्रतिनिधिले एकले अर्कोलाई देखाएर पन्छिने गरेका छन् । अस्पतालमा बिहानैदेखि प्रहरी परिचालन गरिए पनि कुनै घटना भने भएको छैन । – RSS