अर्घाखाँचीका कयौ गाउँमा खानेपानीको संकट, आकाशबाट पानी परेपछि गाउँले खुसी


 

– वीरेन्द्र केसी

 

अर्घाखाँची ।  गोखुंगाकी पार्वता खनाललाई अहिले पानीको दुःख त्यति छैन । वर्षा लागेकाले आकाशबाट पानी परेपछि खानेपानीको दुःख टरेको छ ।

 

घर छेउँमा बनाएको सिमेन्टको घैटोले घण्टौ समय लगाएर पानी बोक्ने समस्याबाट छुटकारा दिएको छ । हिउँदको समयमा यी घैटा रित्तै हुन्छन उनले भनिन वर्षामा भरिन्छन त्यहि पानी खान्छौ । अहिले आकाशबाट पानी पर्दा घरको छानोबाट खस्ने पानी बाहिर खेर पालिदैन । घर र थारो वरीपरीबाट पाईपको डुँड थापेर घैटोमा जम्मा गरिन्छ । उनी मात्र होईन गोखुंगा बल्कोट चिदिका केरुगा गाविसका गाउँले आकाशबाट पानी परेपछि खानेपानीको लागि दुःख टरेको सम्झन्छन । असार देखि भदौसम्म यहि घैटाको पानीले जुगारा गर्छौ र अर्की गृहणी ईन्दिरा पौडेलले भनिन त्यसपछि आकाशबाट पानी पर्न छाड्छ अनि आउँछन खानेपानीका दुःख । सबैभन्दा घरका गृहणीलाई समस्या हुने गर्छ । 

 
आकाशबाट पानी पर्दा रातको समयमा पनि नसुती घैटो भर्नमा ध्यान हुने उनको भनाई छ । सबैले ५ देखि ८ हजार लिटर पानी अटने घैटामा संकलन भएको पानी खान कपडा धुन र गाईवस्तुलाई खुवाउने गर्छन । चार वर्ष फिनिडाले घरछेउमै सिमेन्टको घैटो बनाएपछि आकाशबाट घरको छानोमा परेको पानी पाईपको माध्यमबाट घैटोमा संकलन गर्न  फाईदा पुगेको हो ।


गाउँका अधिकाश घरमा पानी संकलनका लागि घैटो निर्माण भएका छन । घैटो निर्माण गर्न फिनिडाको १६ हजार र जनश्रमदान गरि करिब २५ हजार खर्चले एउटा घैटो निर्माण भएको  गोखुंगाका स्थानीय श्याम घिमिरेको भनाई छ । हिउँदको समयमा यहाँका करिब ४ सय भन्दा बढी घरपरिवार काउले खोलाको कुवाबाट ४ घण्टा समय लगाएर गाग्रीमा बोक्छन; उनले भने वर्षामा भौसी बाख्रो धेरै पाल्नछन तर हिउँदमा एउटा भैसीलाई पनि पानी खुवाउन अति गाह्रो पर्छ ।

 

 जिल्लाको बल्कोट केरुगा र चिदिका गाविसमा आउने छत्रगाज स्थित मढेलचौर मुहानको पानी तीन वर्ष देखि आउन छाडेको छ । मुहान नजिकै डोजर स्काभेटरले माटेरबाटो खनेपछि त्यहाँका रुखहरु सुक्दा तीन गाविसका करिब ५० हजार जनसंख्या प्रभावित बनेका छन । बल्कोटका शिक्षक विष्णु भुसालका अनुसार विहान बेलुका संकलन गरेर बल्लतल्ल गाउँलाई पुग्ने खानेपानी पनि अवरुद्ध हुँदा समस्या भोग्नु परको छ । तीन गाविसका सबै गाउँलेले हिउँदको बेला पानीकै कारण कष्टकर दुःख पाउँछन तर वर्षा लागेपछि घैटाले केही हदसम्म खुसी हुन्छन । आकाशबाट पानी परेर घैटोमा संकलन हुन लागेकाले दुई सातादेखि पधेरोबाट बोक्न परेको छैन; सृजना ज्ञवालीले भनिन असोजबाट जेठसम्म साह्रै दुःख हुन्छ । तीन चार घण्टा गाग्रीमा बोकर खानुपर्छ  । 

 
२०३२ सालमा राष्ट्रिय योजना अन्तरगत मढेलचौर योजनाबाट पानी ल्याईएपनि प्रशस्त मात्रमा पानी नभएकाले फिनिडाले यी गाविसका सबै घरमा घैटा निर्माण गरिदिएको थियो । चार गाविसमा नजिकै मुहानका स्रोत नभएको र टाढाबाट ल्याउन लगानी धेरै लाग्ने भएकाले स्थानीय साना योजनाले संभव नहुने तर राष्ट्रिय स्तरका योजनाको लागि जिल्ला र केन्द्रका सरकारी तथा गैरसरकारी निकायमा माग गरेपनि कसैले  हात हाल्न नसकेको चिदिकाका शिक्षक खुमानन्द अर्यालले बताए ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।