काठमाण्डौं । सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै यातायात व्यवसायीहरुले यातायात बन्द गर्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, अखिल नेपाल यातायात मजदूर संघ, नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले संयुक्तरुपमा २६ गतेदेखि अनिश्चितकालिन यातायात बन्द सहित विरोधका कार्यक्रम घोषणा गरेका हुन् ।
महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बिहीबार साँझसम्म पनि सरकारले वार्ताका लागि कुनै पहल नगरेको भन्दै आन्दोलका कार्यक्रम जारी रहेको जानकारी दिनुभयो । सरकारले यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्ने यसअघिका सम्झौता कार्यान्वयन नगरेको भन्दै थप माग सहित आन्दोलन घोषणा गरेको हो ।
व्यवसायीहरुले छुट्टै यातायात मन्त्रालय गठनको माग गर्दै आएका छन् । ट्राफिक प्रहरीलाई प्रत्यायोजन गरेको थप अधिकार र ट्राफिक जरिवानामा सरकारबाट दिइएको कमिशन रकम सम्बन्धि निर्णय खारेज गरिनुपर्ने माग लाई पनि उनिहरुले जोडदारका साथ उठाउँदै आएका छन् ।
आफूहरुको माग सम्बोधन गराउने विषयमा पटक पटक सरकारसँग माग राख्दा सम्बन्धित निकायले कुनै चाँसो नदेखाएकाले आन्दोलनमा जानु परेको उनिहरुको भनाई छ । बीमा नीति नीतिगत रुपमा व्यवहारमा लागू गराउन पनि व्यवसायीको माग छ ।
दुई दिन सार्वजनिक यातायातका साधन बन्द गरेर हड्तालमा उत्रने र त्यस यता पनि सरकारले आफुहरुका माग सम्बोधन नगरे नेपाल बन्द गर्ने उनिहरुको चेतावनी छ । – RSS