काठमाण्डौं । प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान सभाबाटै नयाँ संविधान जारी गर्ने वातावरण बन्ने ग्यारेण्टी भए मात्रै आफूले पद त्याग्ने अडान दोहो-याउनु भएको छ । १८ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघले आज राजधानीमा गरेको कार्यक्रमको उद्घाटन गर्दै उहाँले संविधान र शान्तिका मुद्दा छोडेर सत्ता परिवर्तन मात्र गर्न खोजे आफूले पद त्याग नगर्ने चेतावनी दिनु भयो ।
काँग्रेस एमाले लगायतका दलहरुलाई एकात्मक राज्यसत्ताको अवशेषको आरोप लगाउँदै प्रधानमन्त्री भट्टराइले उनीहरुकै कारण संविधानसभा विघटन भएको जिकीर गर्नुभयो । कार्यक्रममा एमाले उपाध्यक्ष अशोक राईले एमालेलाई सुधारेर राष्ट्रिय समस्या समाधान गर्ने सम्भावना अन्त्य भइसकेकाले आफूहरु वैकल्पिक शक्ति निर्माणमा अग्रसर भएको बताउनु भयो ।
सोही कार्यक्रममा नेपाली काँग्रेसका नेता इन्द्रबहादुर गुरुङले संविधान सभाका पूर्व अध्यक्ष सुवास नेम्वाङ र गृहमन्त्री विजय गच्छदारले आदिवासी जनजातिहरुसँग गद्दारी गरेको आरोप लगाउनु भयो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी, सद्भावना पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्ण लगायतका वक्ताहरुले संविधान सभाबाटै पहिचानसहितको संघीयतासहितको संविधान जारी नभए आपूmहरुलाई मान्य नहुने धारणा राखेका थिए । – RSS